
वि.सं २००२ साल पौष तीन गते डोटी जिल्लामा जन्मेर कैलाली बसाई सराई गर्नुभएका दिर्घराज भाट नेपाली कांग्रेसका पुराना नेता मध्येका एकजना हुनुहुन्छ । १० वर्षसम्म नेपाली कांग्रेस कैलाली जिल्ला कार्य समितिको सभापति र सुकुम्बासी समस्या समाधान आयोगको समेत अध्यक्ष बन्नुभएका उहाँ प्रजातान्त्रिक आन्दोलनका क्रममा पञ्चायत कालमा एक वर्ष सात महिना जेल जीवन बिताउनुभएको थियो । पार्टीका सभापति शेर बहादुर देउवा निकट मानिनुहुने राज्यमन्त्री भाट कैलाली क्षेत्र नम्बर पाँचबाट प्रत्यक्षमा निर्वाचित सांसद समेत हुनुहुन्छ । वन राज्यमन्त्री भाटसँग समग्र वनको अवस्था, अतिक्रमण नियन्त्रणका चुनौति र समाधानका उपायका साथै पुनर्वास घट्नाका विषयमा डायरी एक्सप्रेस साप्ताहिकसँग गरिएको विशेष वार्ता:
० वन अतिक्रमणका हुनको कारण के के हुन् ? र नियन्त्रणका लागि के कस्ता चुनौतिहरु छन् ?
मैले वन सम्बन्धी नेत्र बहादुर थापाले लेखेको पुस्तक सानो हुँदा पढेको थिए । त्यहाँ लेखिएको थियो ‘नेपालको जनसंख्या ५६ लाख भनेर’ । अहिले त्यो जनसंख्या तीन करोड पुग्न लागिसक्यो । तर, जमिनको क्षेत्रफल त बढ्दैन । हाम्रो देशमा उद्योग धन्दाहरु प्रयाप्त छैनन् । मानिसको जीवन यापनको माध्यम नै कृषि पेसामा निर्भर रहेको छ । बढ्दो जीवन यापनलाई धान्नका लागि विभिन्न प्रकारले वनक्षेत्रको अतिक्रमण भइरहेको छ । वन अतिक्रमण गरेर गरिएका खेतिबालीहरु पनि वैज्ञानिक नभएर परम्परागत प्रणालीमा निर्भर छन् । वन जंगल फाडनीमा सुकुम्बासी र हुकुमबासी दुबैथरीले अतिक्रमण गरेको अवस्था पाईन्छ । सुकुम्बासी समस्या समाधानका लागि पटक पटक धेरै आयोगहरु बनाइए । बस्ती विकास, पुर्नबास कम्पनी र भूसंरक्षणका नाममा धेरै आयोगहरु बने । कुनै आयोगले पनि यो समस्या समाधान गर्न सकेनन् र हुन पनि सक्दैन । किनकी सुकुम्बासी समस्या समाधानका लागि बनाइएको आयोगको निर्देशिका नै गलत छ । एक जना व्यक्तिलाई सुकुम्बासी भनेर सिफारिस गर्दा एउटा गाविस र नगरपालिकाको वडाले देशभरिमा यो व्यक्तिको एक धुर पनि जमिन छैन भनेर सिफारिस गर्ने गर्दछ । त्यही सिफारिसलाई सुकुम्बासी आयोगले मान्यता दिँदै आएको छ । हाम्रो देशमा ७५ वटै जिल्लामा जग्गा जमिन हुने व्यक्तिको एउटै पुर्जा हुनुपर्दछ । एउटै पुर्जामा देशभरि कहाँ कति जमिन छ प्रष्ट हुनुपर्दछ । देशभरको एउटै पुर्जा बनाउनुपर्ने अवस्थामा मात्र हुकुमबासी र सुकुम्बासी छुट्टाउन सकिन्थ्यो । हाम्रो क्षेत्रका धेरैजसो मानिसहरुको डोटी र कैलाली दुबै ठाउँमा जग्गा छ । तर डोटीमा प्रशस्त जग्गा भएका मानिसहरु कैलालीमा वन फाडनी गरेर सुकुम्बासीका नाममा हड्पेर बसेका छन् । त्यसैले सुकुम्बासी समस्या नेभर इण्डिङ प्रोबेलम (कहिल्यै समाप्त नहुने समस्या) बनेर समाधान नहुने एउटा रोग बनिरहेको छ । त्यही कारण मैले राष्ट्रिय विकास परिषद्को बैठकमा प्रधानमन्त्रीलाई भनेको थिए ‘सुकुम्बासी सम्बन्धी नीति नै संशोधन गर्नुपर्दछ’ । मेरो समयमा सुकुम्बासीलाई दश कट्ठा र अव्यवस्थित बसोबास गरी बस्नेहरुलाई झनै डेड बिघा दिने गरिन्थ्यो । यस्तो गलत नीति राज्यको छ । बाहिर जग्गा जमिन भएको व्यक्तिको त झनै जफत पो गर्नुपर्दछ । यसरी सुकुम्बासीले भन्दा हुकुमबासीलाई बढि जग्गा दिने गरि निर्देशिका बनाइएको रहेछ ।
० नेपालमा भारतबाट पनि बाघ मार्नका लागि गिरोह नै आउने गर्दो रहेछ ।
० देङ स्यायो पिङ सत्तामा आएपछि पुरै ओपन मार्केटलाई बढवा दिए ।
० एक जना नेपालीलाई चीनले मार्दा त्यो समयको ५० हजार क्षतिपुर्ति दिएर माफि मागेको थियो ।
० भारतले अहिले पनि कालापानी र सुस्ता समेत कब्जा गरेको छ ।
० पीडित र शोषितहरुले पनि न्याय पाउनुपर्दछ भनेर नै भनेर बिपी कोइरालाले अहिंसात्मक बाटोबाट समाजवादी राज्य व्यवस्थाको स्थापनाका लागि समाजवादको बाटो अवलम्बन गर्नुभएको हो ।
अहिले त सडक र भित्री बाटोमा सुकुम्बासीहरुलाई जग्गा वितरण गर्ने छुट्टै निर्देशिका बनाइएको छ । पहिला म डोटीबाट आउँदा कोल्हुवाबाट मालाखेती र अत्तरिया आउँदासम्म धेरै जंगलको बाटो हिडेरै आउनुपर्दथ्यो । अहिले जंगल सबै सफा बनेको छ । म कहाँ हुलाकी राजमार्गलाई वनले बाटो नदिएर अवरोध गरेको छ भन्ने समाचार आयो । त्यसपछि म आफै कैलाली गएर बसुन्दा भन्ने ठाउँमा गएर हेरे । त्यो ठाउँमा वर्षायाममा बाढीले डुबाउने गर्दछ । त्यसकारण उनीहरुलाई त्यो समयमा बस्नका लागि अस्थायी रुपमा सुरक्षित स्थानमा सार्ने गरिन्छ । त्यो गाविसका मानिसहरुले वन क्षेत्रमा अतिक्रमण गरेर पुरै बस्ती बनाएका छन् । उनीहरु विद्युत लाईनका लागि समेत माग गरेका थिए । तर मैले नै रोकिदिएको छु । त्यसपछि उनीहरुले म आएको कार्यक्रम समेत बहिष्कार गछौंँ भनेका छन् । वन संरक्षणका लागि अलोकप्रिय निर्णय लिन पनि हामी बाद्य हुनुपर्दछ । कैलालीको हकमा हुलाकी राजमार्गको रेखांकन गर्ने प्राविधिकको पनि बदमासी भएको मैले ठानेको छु । सानो जंगललाई बीचबाट राजमार्ग बनाएर दुई कित्ता बनाउने प्रयास गरिएको छ । उत्तर दक्षिण तर्फ अतिक्रमित गराउनु भन्दा ४ सय मिटर घुमाएर वनको छेउबाट लैजानका लागि मैले निर्देशन दिएको छु । वन अतिक्रमण गर्न पाइने हुँदा त्यो पुरानो रेखाङकनका लागि स्थानीयहरु लागिपरेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट वन्य जन्तुहरु हात्ती, बाघ, हिड्ने जैविक मार्ग चुरे पहाडसम्म रहेको छ । त्यहाँ पनि मानिसहरुले अतिक्रमण गरिरहेको अवस्था छ । निर्वाचन पछि ठाउँ ठाउँमा चौकीहरु खडा गरेर अतिक्रमण गर्नेहरुलाई तुरुन्तै हटाउने व्यवस्था गर्न लागेका छौं । अनेक बहानामा भूमिपतिहरुले समेत पनि हुलाकी राजमार्ग र पुर्व पश्चिम राजमार्गका किनारामा अतिक्रमण गरेर बस्ने गरेका छन् । वन मन्त्रालयसँग जनशक्तिको कमि छ । कतिपय समयमा संयुक्त सरकारमा पनि अर्को पार्टीको गृहमन्त्री भएको खण्डमा प्रहरीबाटै पनि असहयोग भएको अवस्था देखियो । तथापि अहिले त्यो अवस्था छैन । यसरी डुबान, सुकुम्बासी, बाढी पीडित, मुक्त कमैयाको नाममा वन अतिक्रमण हुँदै आएको छ ।
अहिले २४० वटै निर्वाचन क्षेत्रमा खेद मैदान बनाउने भनिएको छ । त्यसका लागि पनि जंगलमा बनाउनका लागि माग गरिएको छ । सेनाको व्यारेक र प्रहरीको चौकीहरु वनमै राखिनुपर्ने, क्याम्पस र विद्यालयहरु पनि जंगलमै राखिनुपर्ने, विमानस्थलहरु पनि जंगलमै राख्नुपर्ने, यसैकारण अहिले वन अतिक्रमण तिब्र भएको हो । अहिले झण्डै २५ हजार हेक्टर जमिन अतिक्रमण भएको छ ।
० अहिले नेपालमा वनको क्षेत्रफल कति छ ?
नेपालको क्षेत्रफलको करिब ४४ प्रतिशत जंगल छ भनिन्छ । पहिला ३९.६ प्रतिशत जंगल थियो । तर अहिले सामुदायिक वनका कारण पहाडी भागमा जंगलको क्षेत्रफल बढेको भनिएको छ । तथापि त्यो वनको हैसियत राम्रो छैन । किनकी वन्य क्षेत्र पुरै क्षयीकरण छ । पहाडमा खोटोका कारण सल्ला पुरै सखाप बनेको छ । सल्ला जत्ति आगोले जलाएको जस्तो फोस्रो पात भएका छन् । जंगलभित्रै पक्की घर बनाउन दिइएको छ । बिद्युत लाइन दिइएको छ । अहिले नापी नभएको जग्गा जत्ति जंगल भनिएको छ ।
० समग्रमा वन नीतिमा के के सुधार गर्नुपर्ने देखिन्छ ?
सुकुम्बासीका नाममा अतिक्रमण गर्नेहरु जत्ति सबैलाई हटाउनुपर्दछ । समय लगाएरै पनि ७५ वटा जिल्लाको एउटै जग्गाधनी प्रमाणपुर्जा बनाउनुपर्छ । त्यसपछि एउटा जिल्लामा जग्गा भएका मानिसले सुकुम्बासी हुँ भनेर अर्को ठाउँमा जग्गा लिन पाउँदैनन् । नगरपालिका र गाउँपालिकाले सिफारिस गर्दैमा हुकुमबासी र सुकुम्बासीहरु छुट्टिदैनन् । त्यसका लागि केन्द्रबाटै भूमिसुधार मन्त्रालयले नै यसको व्यवस्थापन गर्नुपर्दछ । वन संरक्षणका लागि अत्यन्त कम बजेट विनियोजन गरिएको छ । त्यसका लागि बजेटमा वृद्धि गर्नुपर्दछ । राज्यले बजेट विनियोजन गर्दा सबैभन्दा बढि वन मन्त्रालयमा राख्नुपर्दछ । किनकी अहिले हिमालमा हिउँ पग्लिएर हिम नदिहरु घट्दैछन् । यो शताव्दीको अन्तसम्म हिमालमा हिमनदीहरु सबै नै सिद्धिनेछन् । यसरी धेरै खालका चुनौतिहरुसँग जुध्नका लागि आवश्यक बजेट हुनैपर्दछ । मैले जोगबुढामा जाँदा देखे बाटोभरी नै पसल राखेर वन अतिक्रमण गरेको । जबकी त्यो क्षेत्र हाम्रै पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको हो । चुरे क्षेत्रमा रहेका ढुुङ्गाहरु भारत नजिक भएकाले उतै बेच्न पाउनुपर्दछ भन्छन् त्यो ठाउँका मानिसहरु । मैले इलाका वन अधिकृतलाई बोलाउँदा त्यहाँ दुई जना वनपाले मात्रै रहेको पाएँ । जबकी रेञ्जर पनि थिएनन् । त्यो अवस्थामा जनशक्ति बिना कसरी वन संरक्षण हुन सक्छ ? कतिपय ठाउँमा दरबन्दी अनुसारका जनशक्ति नै छैनन् । अहिले १२ सय जना वनरक्षक भर्ना गर्न लागिएको छ । तर त्यो संख्या पनि प्रयाप्त हुँदैन । साथै वन संरक्षणका लागि ७ सय जना नेपाली सेनाका जनशक्ति सरकारले माग गरेको छ ।
० अहिले वन्यजन्तुको चोरी शिकारी गर्ने कार्य पहिला भन्दा कम भएको हो ?
वन्य जन्तुको शिकार गर्ने काम पहिला भन्दा कम भएको छ । नेपालमा भारतबाट पनि बाघ मार्नका लागि गिरोह नै आउने गर्दो रहेछ । कञ्चनपुर र बर्दियामा हामीले पक्रेका पनि छौं । गैडाका खाग र हात्तीका दाह्रा निकालेर बेच्ने तस्करहरु कम भएका छन् । अहिले चितवनमा थुप्रै आखेटोपहारहरु रहेका छन् । जुन जलाउने निर्णय पनि हामीले गरिसकेका छौँ ।
० पहिला पहिला दरबारियाहरु शिकार खेल्ने क्रममा थुप्रै वन्य जन्तुहरु मारिएका समाचार आउथे हैन र ?
राजा महाराजाहरुले शिकार गर्दैमा सकिएका पनि हैनन् किनकी एउटै राजाले कति नै बाघ मार्थे होलान त ? यस्तो चोरी शिकारी गर्ने त ठूलो गिरोह नै रहेको छ ।
० अहिले नेपाली कांग्रेसले समाजवादी नीतिको परित्याग गरेको हो ?
वास्तवमा नेपाली कांग्रेसको २०१२ सालमा भएको वीरगंज महाधिवेशनबाट समाजवादको नीतिलाई आत्मसात गरेको हो । पहिला देखि नै समाजवादी सम्मेलनमा नेपाली कांग्रेसले पनि भाग लिदै आएको थियो । त्यो समयमा संसारकै आधाभन्दा बढि देशमा कम्युनिष्ट शासन थियो । त्यसै कारण त्यो समयमा भएको धनी र गरिब बीचको ठूलो खाडल थियो । नेपालमा राणा प्रधानमन्त्री जंग बहादुर राणाका शासन भन्दा पनि पहिला नै कार्लमाक्र्सले कम्युनिष्ट मेनिफेष्टोको प्रतिपादन गरेका थिए । माक्र्स र एंगेल्सले १८ घण्टा काम गराएर शोषण गरिएका मजदुरहरुको अवस्था देखे त्यसैकारण कम्युनिष्ट सिद्धान्तको जन्म भयो । विश्वमा पुँजीवाद र साम्यवादका बीचमा ठूलो कोल्डवारको चरम उत्सर्कमा पुग्यो । त्यसैकारण पनि पीडित र शोषितहरुले पनि न्याय पाउनुपर्दछ भनेर नै बिपी कोइरालाले अहिंसात्मक बाटोबाट समाजवादी राज्य व्यवस्थाको स्थापनाका लागि समाजवादको बाटो अवलम्बन गर्नुभएको हो ।
कम्युनिष्टहरु हिंसात्मक बाटोबाट लक्षमा पुग्नुपर्दछ भन्ने मान्यता राख्छन् । साथै कम्युनिष्टहरु जुनसुकै साधनबाट पनि लक्षमा पुग्नुपर्दछ भन्ने गर्दछन् । त्यसै कारण विपीले समाजवादको नारा ल्याउनुभएको हो । त्यो समयमा भारतीय कंग्रेस छाडेर राम मनोहर लोहिया, आचार्य नरेन्द्र देब, जयप्रकाश नारायण लगायतले समाजवादको बाटो अवलम्बन गरेका थिए । २०१२ सालको अधिवेशनमा विपीले समाजवादको नीति अवलम्बन गराउनु भएको थियो । २०१५ सालको आम निर्वाचन पश्चात २०१६ सालमा बनेको मन्त्रीमण्डलमा विपीले शोषण रहित समाजको स्थापना गर्ने भन्ने हिसावले जमिन्दारी प्रथा, बिर्ता उन्मुलन, राजा रजौटाहरुको उन्मुलन, वनको राष्ट्रियकरण, भूमिसुधारको लागू गर्ने जस्ता काम गर्नुभयो । त्यो समयमा टेक्स प्रमुुखमा इन्द्र देव सिंह भन्ने व्यक्ति थिए । उनी कर्मचारी भएपनि एमकम पास गरेका थिए । त्यसैकारण उनलाई टेक्स अफिसर बनाइयो । टेक्स प्रमुख सिंहले प्रधानमन्त्री विपीलाई भने ‘छानविन कहाँबाट शुरु गरौं । बिपीले भनेका थिए ‘सबैभन्दा पहिला माथिबाटै सुरु गर्नुहोस’ । त्यसपछि उनै इन्द्रजीत सिंहले तत्कालीन राजा महेन्द्रलाई आत्थु आत्थु पार्नेखालको पत्र पठाए । त्यो घट्ना विपीलाई राजा महेन्द्रले सुनाएपछि विपीले भनेका थिए । कानुन भन्दा माथि कोहि छैन ।
त्यसैले छानविन गर्नपाउनुपर्छ भनेर महेन्द्रलाई भनेपछि राजा महेन्द्रसँग दूरी बढेको थियो । अहिले ओपन मार्केट इकोनोमी हावी भयो अव त गरिब झन गरिब र धनी झन धनी बन्ने अवस्थाको सिर्जना भयो । चीन जस्तो देश जहाँ देङ स्यायो पिङ सत्तामा आएपछि पुरै ओपन मार्केटलाई बढवा दिए । द राइज एण्ड फलिङ अफ देङ स्या पिङ भन्ने पुस्तकमा लेखिएको छ त्यो समयमा चीनको जनकंग्रेसबाट ९९ प्रतिशतबाट पास गरिएपछि भारतमा भन्दा अघि चीनमा ओपेन मार्केट पोलिसी ल्याइएको हो । त्यो समयमा चीनमा स्टेट कन्ट्रोल इकोनोमीको पुरै खारेज गरिएको थियो । अहिले चीनमा सम्पत्ति राख्न दिइएको छ । त्यसै कारण अहिले दुई डिजिटको आर्थिक प्रगतिमा चीन लम्किएको छ । भारतका वित्त मन्त्री डाक्टर मनमोहन सिंहले पनि १० वर्ष पछि मात्रै ओपन मार्केट पोलिसीको स्थापना गरे । अहिले विश्वमा नै बजार अर्थतन्त्रको बोलवाला रहेको छ । अहिले विश्व बैंक जहाँ अमेरिकाको बढि शेयर छ । भियतनाममा पनि ओपेन मार्केट पोलिसी लागू भएको छ ।
अहिले यो प्रणालीसँग असहमत राष्ट्र केबल उत्तर कोरिया र क्यूवा मात्रै हुन् । कार्लमाक्र्सले पनि पुँजीवादको गर्भबाट समाजवादको जन्म हुन्छ भनेका छन् । विपी कोइरालाले पनि समाज सम्पन्न नहुँदा सम्म समाजवाद आउन सक्तैन भनेका थिए । किनकी एक लिटर दुध उत्पादन भएको अवस्थामा एक सय जनालाई बाड्न सकिदैन । त्यसका लागि उत्पादन पनि वृद्धि हुनुप¥यो । उत्पादन प्रशस्त नभइकन समान वितरणको कल्पना गर्न सकिदैन । हाम्रै पार्टी भित्रका केहि मानिसहरुको के धारणा छ भने मानिसका आधारभूत आवश्यकताहरु शिक्षा र स्वास्थ्य र रोजगारी बाहेकमा मात्रै खुल्ला अर्थतन्त्र लागु गरौ भन्नेहरु हुनुहुन्छ । अहिले सम्पन्न नहुन्ँजेल त गरिबी मात्रै बाडिने हो । आखिरमा समाजवादको लाइनमा पार्टी अगाडि बढ्ने नै छ ।
० महाधिवेशन सम्पन्न भएको लामो समय देखि नेपाली कांग्रेस पार्टीको पदाधिकारीहरुको मनोनयन हुन सकिरहेको छैन । किन त्यसो भएका हो ?
हिजो सुशील कोइराला सभापति हुँदा पनि कार्यकाल भर एक/दुई पटक मात्रै पार्टीको केन्द्रीय समितिको बैठक डाक्नुभयो । उहाँले पनि महाधिवेशन गर्न लाग्दा मात्रै केन्द्रीय सदस्यको मनोनयन गर्नुभएको हो । तथापी एक हप्ता भित्रै पुर्ति गर्ने भनेर शेरबहादुर दाईले नै भरखरै मसँग भन्नुभएको छ ।
० निर्वाचन समयमै सम्पन्न होला ?
वास्तवमा मधेसी दलहरु पनि ढिलो चाँडो चुनावी प्रक्रियामा सामेल हुनैपर्दछ । यदि उनीहरु आएनन् भने पनि दुई नम्बर प्रदेश बाहेकका प्रदेशहरुमा वैशाख ३१ गते र दुई नम्बर प्रदेशमा चरणबद्ध रुपमा निर्वाचन हुन्छ । भारतको उत्तर प्रदेशमा पनि त सात चरणमा निर्वाचन गरिएको छ ।
० पुनर्वासको घट्नालाई तपाईले कसरी हेर्नुहुन्छ ?
वास्तवमा पुर्नवासमा मात्रै नभएर सुस्ता लगायतका ठाउँहरुमा सीमा समस्याहरु छन् । त्यहाँका मानिसहरु तीन किलोमिटर परसम्म आफ्नो जमिन भएको तर अहिले पुर्जा मात्रै नेपाली जमिन भारतमा परेको बताउँछन् । भारतीयहरुको त्यहाँको एसएसबीको ठुलो फौज नै तैनाथ गरिएको छ । हाम्रो मुस्किलले १० जना प्रहरी रहेका हुन्छन् । महाकाली पर अझ तीन किमी फरकमा एसएसबीका पोष्टहरु रहेका छन् । तर हाम्रा भने मुस्किलले एक÷दुई ठाउँमा मात्रै सशस्त्रका पोष्टहरु छन् । अहिले हाम्रो बोर्डरमा धेरै ठाउँमा सशस्त्र प्रहरी राख्नुपर्दछ भन्ने माग बढिरहेको छ । हाम्रो सुरक्षाकर्मीको अनुपस्थितिमा भारतीयहरुले सीमा स्तम्भ नै सारेका छन् । पुनर्वासमा सुमेरु नगर भन्ने नेपालको जग्गा पुरै भारत तर्फ पारिएको छ । अहिले पनि म कहाँ आउने एक जना महात्म भारतीय पो बनेका छन् । किनकी उनको जग्गा अहिले भारत तर्फ पारिएको छ । भारतले अहिले कालापानी, सुस्ता लगायतको भूभाग कब्जा गरेको छ । पूर्वमा पशुपतिनगर पनि त्यही हालतमा छ । भारतसँग सीमाका विषयमा कडा हुनैपर्दछ ।
० नेपालको परराष्ट्र र सुरक्षा नीति प्रष्ट नभएकै कारण यो अवस्था भएको हो ?
हो अहिलेसम्म नेपालको ठोस खालको परराष्ट्र नीति नै बनेको छैन । एउटा परराष्ट्रमन्त्रीले एक कुरा गर्छन् अर्को आएपछि अर्को कुरा हुन्छ । एक जना नेपालीलाई चीनले मार्दा बिपीको समयको ५० हजार क्षतिपुर्ति दिएर माफी मागेको थियो । नेहरुले हिमालय सम्म भारतकै हो भनेपछि नेपालमा तिब्र विरोध भयो त्यसपछि उनले विपीसँग माफी मागे । हाम्रो परराष्ट्र नीति फितलो बनेको छ । भारतमा जो सुकै सत्तामा आएपनि एउटै विदेश नीति हुन्छ । चाहे वामपंथी होस वा दक्षिणपंथीको सरकार भारतमा एउटै विदेश नीति छ । हामी कहाँ २००७ साल देखि नै संक्रमणकालको अवस्थामा देश गज्रिरहेको छ । यहाँ राजनीतिक स्थिरता छैन । सरकार छ महिनामा परिवर्तन हुन्छ । चीन समेत सधै एउटै विदेश नीतिमा अडिग छ । हाम्रो विदेश नीति राष्ट्रिय हितका पक्षमा हुनुपर्दछ ।
० तपाईको राजनीतिका ६ दशकका समयमा बढि खुशी र बढी दुःखी कहिले हुनुभयो ?
म २०४६ सालको आन्दोलन पछि बहुदलको घोषण हुँदा एकदमै खुशी भए । र २०४२ सालको सत्याग्रहमा घरबाटै गिरफ्तार हुँदा घरका सबै जना परिवारमा रुवाबासी चल्यो र मलाई पनि असाध्यै दुःख लाग्यो । अन्य समयमा म धनगढी वा अन्यत्रैबाट गिरफ्तार हुन्थे ।
० अन्तमा….?
देशमा एउटा राज्य व्यवस्थाको अन्त भएर अर्को राज्य व्यवस्थाको स्थापित नभइसकेको संक्रमणकालीन अवस्था छ । संक्रमणकालीन अवस्था सबै देशमा ठूलो समस्याका रुपमा हुन्छ । ३० वर्ष सम्म पनि कतिपय देशमा संक्रमणकाल रहेको पाईन्छ । त्यसैकारण तीन ठूला पार्टीहरु बीच विशेष मेलमिलापका साथ अघि बढ्नुपर्दछ । त्यसपछि मात्रै देश एउटा ट्रायकमा जानेछ ।












प्रतिक्रिया