काठमाडौं, १५ चैत । महानगरीय प्रहरीलाई आईतवार साँझ सूचना आयो, राजधानीका अधिकांश क्यासिनोमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाईदैछ । सूचना पाए लगत्तै महानगरीय प्रहरीले आयुक्त कार्यालय सहितको अपराध महाशाखा र काठमाडौं परिसरको संयुक्त ६ वटा टोली बनायो ।
एकै समयमा छापा मार्दा उपलव्धि हासिल गर्न सकिने भन्दै ९ बजेर ३० मिनेटमा टोली हाल सञ्चालनमा रहेका राजधानीका ६ वटै क्यासिनोमा पुगेर एकै समय मिलाएर छापा मारे तर हात लाग्यो शुन्य । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
सूचना लिक हुने डरले प्रहरी आफैले अपनाएको रणनीति आफैमा अभिसाप बन्न पुग्यो । त्यहि टोलीका केही गद्दार प्रहरीले क्यासिनोमा सूचना दिएर आफ्नो दुनो सोझ्याउँदै बार्गेनिङ पावर बढाएको स्रोतले भन्यो ।
तीन युनिटका सयुक्त टोली खडा गर्नु नै सूचना लिक हुने सम्भावना बढ्नु रहेको एक प्रहरी अधिकारीले बताए । तर परिसरका एसएसपी छाविलाल जोशीले सूचना लिक नभएको बताउँदै मध्य रातमा सर्च गरेको भए केही उपलव्धि हुनेमा विश्वस्त छन् ।
क्यासिनोमा नेपाली प्रवेशलाई नियन्त्रण गर्न यो सर्चले राहत पुग्ने दाबी गदै उनले भने, ‘क्यासिनोमा हाम्रो बिशेष निगरानी हुन्छ ।’
हाल राजधानीमा सोल्टी होटलमा क्यासिनो माजोङ, दरबारमार्गस्थित होटल याक एण्ड यतिमा रोयल, लाजिम्पाटमा राड्, सांग्रिला र हायतमा प्राराईड र मल्ल होटलमा मल्ल क्यासिनो सञ्चालनमा छन् ।
यीमध्ये क्यासिनो सोल्टी र राड्मा नेपालीलाई प्रवेश गराउने गरेको स्रोतको दाबी छ । ठूलै रकमको जुवा खेल्ने जुवाडेलाई स्थानीय प्रहरीको सेटिङमा क्यासिनोले जुवा खेलाउदै आएको छ ।
पछिल्लो समय क्यासिनोमा नेपाली प्रवेशलाई प्रहरीले कठाई गर्दै नेपाली जुवाडे भेटिए सञ्चालकलाई समेत मुद्दा चलाउ थालेपछि नेपाली प्रवेशमा कमि आएको हो ।












प्रतिक्रिया