काठमाडौं, १५ चैत । नेपालको राजनीतिक नेतृत्वको विश्वसनीयता र राज्यको आधिकारिकतामा ह्रास आएको विश्लेषण सर्वत्र भइरहेका बेला चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल र चीनबीच राजनीतिक तहमा विश्वास बढाउन आवश्यक रहेकोमा जोड दिएका छन् ।
चीनको साताव्यापी अनौपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालसँग बेइजिङमा सोमबार भएको भेटमा चिनियाँ राष्ट्रपति सीले दुई मुलुकबीच राजनीतिक तहमा विश्वास बढाउँदै सम्बन्धलाई नयाँ उचाइमा लैजान आवश्यक रहेको बताएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
स्टेट काउन्सिलर याङ जेइची तथा चिनियाँ विदेश मन्त्रालयका उच्च अधिकारीलाई छेउमा राखेर दाहाललाई आधा घन्टा भेटेका सीले नेपाल र चीनबीच कानुन कार्यान्वयन तथा सुरक्षा क्षेत्रमा सहकार्य बढाउनुपर्ने विषयलाई महत्वका साथ राखेको जानकारी भेटमा सहभागी नेपाली अधिकारीले अन्नपूर्णलाई दिए ।
‘द्विपक्षीय सम्बन्धलाई सकारात्मक मोड दिँदै नेपाल–चीन सम्बन्धलाई नयाँ अवस्थामा पुगाउन मिलेर काम गर्नु आवश्यक रहेको राष्ट्रपति सीले बताउनुभयो । नेपाल र चीनबीच परस्पर राजनीतिक तहमा विश्वास सुदृढ गर्न मिलेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो’, भेटबारे चिनियाँ विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ ।
चिनियाँ राष्ट्रपतिले प्रमुख राष्ट्रिय हितका सवालमा चीन र नेपालले एकअर्कालाई साथ दिनुपर्ने बताएका थिए ।












प्रतिक्रिया