काठमाडौं, ६ चैत । निर्वाचन आयोगले राप्रपाको विधान संविधानसँग बाझिएको भन्दै विधानमा उल्लेखित हिन्दु राष्ट्र एवं राजसंस्थासम्बन्धी वाक्यांश हटाइदिएको छ ।
गत ५ देखि १० फागुनसम्म राजधानीमा भएको राप्रपा एकता महाधिवेशनले पारित गरेको विधानमा उल्लेखित केही वाक्यांश ‘संविधानसँग मेल नखाएको’ भन्दै निर्वाचन आयोगले हटाइदिएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
आयोगद्वारा गत २ चैतमा स्वीकृत ‘राजनीतिक दलको विवरण अद्यावधिक र निर्वाचन चिह्न सम्बन्धमा’ भन्ने निर्णयको बैठक संख्या १०५, प्रस्ताव दर्ता २३५/२०७३ मा ‘नेपालको संविधानको धारा ४ मा उल्लेखित धर्मनिरपेक्ष तथा गणतन्त्रात्मकसम्बन्धी प्रावधानसँग मेल नखाएको देखिएको तथा राजनीतिक दलसम्बन्धी ऐन २०५८ को दफा ८ को उपदफा (१) को खण्ड (ग) मा दलको नाम, उद्देश्य, चिह्न वा झण्डा धार्मिक, साम्प्रदायिक वा देशलाई विखण्डित गर्ने प्रकृतिको भएमा आयोगले दल दर्ता गर्न इन्कार गर्न सक्ने उल्लेख भएको देखिँदा उक्त हिन्दु राष्ट्र एवं राजसंस्थासहितको र हिन्दुत्वको भन्ने वाक्यांश हटाई विधानको बाँकी बेहोरालाई प्रमाणित गर्ने’ भनिएको छ ।
राप्रपाको विधानको प्रस्तावनामै ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र एवं राजसंस्थासहितको लोकतन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांश छ । यसैगरी, विधानको धारा ५ मा ‘नेपाललाई सनातन हिन्दुत्वको भावना अभिवृद्धि गर्ने’ भन्ने वाक्यांश छ ।
त्यस्तै, निर्वाचन आयोगले राप्रपालाई चुनाव चिह्न ‘गाई’ दिएको छ । यसअघि, महाधिवेशनपछि बसेको पार्टी केन्द्रीय समिति बैठकबाटै चुनाव चिह्न ‘गाई’ रहने तय भएको थियो ।
राप्रपा प्रवक्ता सुशीलकुमार श्रेष्ठले निर्वाचन आयोगको निर्णयबारे आफूहरूलाई औपचारिक जानकारी नभएको बताए । आयोगले ‘राजसंस्था र हिन्दु राष्ट्रको वाक्यांश हटाए अदालत जाने’ चेतावनीसमेत श्रेष्ठले दिए । ‘पार्टी खोल्ने र आफ्नो विचार राख्न पाउने स्वतन्त्रताको संवैधानिक अधिकार सबैलाई छ, यदि आयोगले त्यस्तो निर्णय गरेको भए हामी कोर्टमा जान बाध्य हुन्छौं,’ प्रवक्ता श्रेष्ठले भने ।












प्रतिक्रिया