५ मंसिर २०८३, शनिबार

सरकारबाट समर्थन फिर्ता लिएको मोर्चाका नेताको प्रस्ताव- पहिला संसदको चुनाव गरौं

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिवजी यादव

काठमाडौं, ३ चैत । मधेशी मोर्चाका नेता एवम् संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिवजी यादवले सरकार गठनका बेला भएको तीन बुँदे सहमति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड–नेतृत्वको वर्तमान सरकारले कार्यान्वयन नगरेकोले बाध्य भएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालद्धारा आयोजित साक्षात्कारमा उनले भने, ‘सरकार गठनको बेला संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग भएको तीन बुँदे सहमति कार्यान्वयनमा सरकार उदासिन देखियो, त्यसैले बाध्य भएर हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका हौं ।’ यद्धपी उनले चैत १५ गतेसम्म वर्तमान सरकारले संविधान संशोधन गर्नेमा आफूहरु पूर्ण विश्वस्त रहेको जिकिर गरे ।

उनले भने, ‘हामी अझैपनि प्रचण्डजीसँग आशा गरेर बसेका छौं, उहाँले हाम्रो माँग पूरा गर्नुहुनेछ भन्नेमा हामी पूर्णतः विश्वस्त छौं, उहाँमा हामीले गम्भिरता पाएका छौं ।’

‘पहिला संसदको चुनाव गरौं’

त्यस्तै उनले सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेको पनि अवैधानिक रहेको जिकिर गरे । उनले भने, ‘यो संघीयताको मर्म र भावना विपरित रहेको छ, स्थानीय तह भनेको प्रदेशको मातहतमा रहने कुरा हो, तर स्थानीय तहको निर्वाचन सिँधै केन्द्रले गर्नु भनेको असंवैधानिक हो ।’

यादवले हालै सरकारले सार्वजनिक गरेको ७४४ वटा स्थानीय तह पनि आफूहरुले नमानेको र सरकारले नयाँ संरचना अनुसार गाउपालिका तथा नगरपालिकाको कार्यालय उद्धघाट्नको कार्यक्रम समेत बहिष्कार गर्ने र भद्र अवज्ञा गर्ने स्पष्ट पारे ।

उनले केन्द्रीय संसदको चुनाव गराउनु नै सुल्टो बाटो भएको स्पष्ट पारे । उनले भने, ‘पहिला केन्द्रिय संसदको चुनाव गर्नुपर्छ, यो नै सुल्टो बाटो हो, तर संविधान संशोधन त गर्नुपर्यो नि, संविधान सबैको सर्वस्वीकार्य त बनाउनुपर्यो नि ।’