काठमाडौं । करिब तीन दशकदेखि गम्भीरजंग रायमाझी व्यायाम पेशामा संलग्न छन् । जीवनको उर्वर समय मानिसहरूको सारीरिक तन्दुरुस्तीका लागि खर्चिएका रायमाझीले आफूभित्रको कला र रहरलाई लामो समय दबाएरै राखे ।
२०३० सालमा काठमाडौंको बानेश्वरमा आमा स्व. राज रायमाझी र बुवा स्व. बच्चुराम रायमाझीका कोखबाट जन्मिएका रायमाझी तीन सन्तानमध्ये माइला हुन । उनले २०४३/४४ देखि नै आफूलाई व्यायाम पेशामा संलग्न गराए ।
रायमाझीले पुराना जिमका मिस्टर नेपाल उदय श्रेष्ठसँग जिम सिके । रत्नराज्यबाट बीकमसम्मको अध्ययन गरेका उनले २०४८ सालमा भिमसेनगोलामा रहेको किङकम क्लबमा जिम सिकाउने काम थाले । पेशागत रुपमा जिम सिक्ने र सिकाउने गरे पनि उनको मनको भित्रि पत्रमा गीत/संगीतप्रति गहिरो लगाव दमित रुपमा बसिरह्यो ।
२०५० सालतिर रायमाझीले केही साथीहरूसँग मिलेर रातोपुलमा न्यगो जिम क्लब सञ्चालन गरे । तीन वर्षसम्म उनको क्लबले निकै प्रख्याती पायो । पछि २०५३ सातमा एकल रूपमै रायमाझीले वानेश्वरको ‘कम्पलिट हेल्थ क्लब’ सञ्चालनमा ल्याए । निरन्तर २० वर्षदेखि सञ्चालमा रहेको यो क्लबबाट कम्तिमा दुई लाख सदस्यले स्वास्थ्य लाभ लिइसकेका छन् ।
क्लबमा आउने आगन्तुकको सारीरिक तन्दुरुस्ती मात्रै देखेर उनी दंग परेनन् । उनलाई लाग्यो ‘मानिस पूर्ण तन्दुरुस्त हुन त मानसिक रूपमा पनि स्वस्थ्य पो हुनुपर्यो ।’ यसको सहज र उत्तम उपाए उनले आफ्नै रुचीको विषयमा खोज्ने कोसिस गरे ।
उनले वागमती किनारमा रहेको प्रयागघाटमा सानो छँदा भजन गाएको कला अनि ‘ग्याम्बिज’ क्याफे चलाउँदा गीत गाएको अनुभवलाई आधार बनाए । त्यसपछि शेखर सुवेदीका शब्दलाई कल्याण सिंहमार्फत संगीत भर्न लगाए । उदयराज पौडेलले एरेन्ज गरेको गीतमा गम्भीरसिंहले स्वर दिए । गीतको बोल होः
पेनकिलरले छोएन, मायाको घाउ कान्छी, एन्टिबायोटिक देऊ,
कुटुकुटु खान्छ कलेजीको छेउ, कान्छी एन्टिबायोटिक देऊ ।
जुन गीत उनले युट्युबमार्फत सार्वजनिक गरे । आधुनिक पप शैलीको यो गीत दुई सातामै करिब ७४ हजारले रुचाइसकेका छन् । यसमा कुनै व्यापारिक उद्देश्य नभएको रायमाझी बताउँछन् । अहिलेको व्यस्तता, भागदौड र तनावको अवस्थामा यो गीत सुद्ध मनोरञ्जनका लागि तयार पारिएको उनले बताए । ‘तर, गीतले जुन रेस्पोन्स पायो, मैले जुन प्रतिक्रिया पाएँ यसले मलाई अब जिम्मेवारीको भारी बोकाएको अनुभूत भएको छ’, गायक रायमाझीले भने ।
हेर्नुस् भिडियोः















प्रतिक्रिया