
काठमाडौँ, २ चैत । स्वास्थ्य मन्त्री गगन थापाको पद जाने पक्का भएको छ ।
विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउन काँग्रेसका तर्फबाट स्वास्थ्य मन्त्रालय र माओवादीका तर्फबाट अन्य एक मन्त्रालय खाली गर्न लागिएको हो । गच्छदारले स्वास्थ्यसहित दुई मन्त्रालय पाउने भएका छन् । यसअघि उनले भौतिक योजना मन्त्रालय मागे पनि काँग्रेस सभापति शेरबहादुर देउवाले भौतिक योजनामा दाबी छाडेर स्वास्थ्य मन्त्रालय लिन गच्छदारलाई आग्रह गरेका छन् । माओवादीले गच्छदारका लागि कुन मन्त्रालय छाड्ने भन्ने विषयमा भने टुंगो हुन बाँकी छ । माओवादीले संचार मन्त्रालय लिन प्रस्ताव गरिरहेको छ ।
प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति देउवा र फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारबीच स्वास्थ्यसहित दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने विषयमा समझदारी भएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जानकारी दियो ।
सरकारलाई समर्थन गरे पनि मधेशी मोर्चाको विरोध र पोर्टफोलियोमा कुरा नमिल्दा गच्छदार सरकारबाहिरै रहेका थिए । तर, उपप्रधानसहित दुईवटा मन्त्रालय लिएर यसै साता सरकारमा जाने विषयमा टुंगो लागेको फोरम लोकतान्त्रिकका नेता डा. सुबोध पोखरेलले जानकारी दिए ।











प्रतिक्रिया