१ कार्तिक २०८३, आइतबार

महिला राष्ट्रिय भलिबलको उपाधि डायमण्डलाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कुश्मा, ३० फागुन । पर्वतमा सम्पन्न प्रथम दिदीबहिनी कप महिला राष्ट्रियस्तरको भलिबल प्रतियोगितामा न्यू डायमण्ड एकेडेमी च्याम्पियन बनेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ को सेटमा निरास पार्दै न्यू डायमण्डले उपाधिमाथि कब्जा जमायो ।

यसका साथै डायमण्डले यस वर्ष चौथो पटक महिला भलिबलको उपाधि हात पार्‍यो । जसमा तीन पटक एपीएफ र एक पटक नेपाल पुलिसलाई स्तब्ध बनाएको थियो ।

उपाधि भिडन्तमा विभागीय टोली एपीएफले पहिलो सेट २५–२१ ले आफ्नो बनाउदै न्यू डायमण्डमाथि दबाब सिर्जना गर्‍यो । न्यू डायमण्डले बलियो प्रदर्शन गर्दै एपीएफको चुनौती सहज परस्त गर्ने क्रममा लगातार तीन सेट आफ्नो बनायो ।

डायमण्डले दोस्रो २५–२२, तेस्रो २५–२० र चौथो सेटमा २५–२० ले जित हात पारेको थियो । डायमण्डले साबित्री कञ्चनजंघा अगरवत्ति उद्योगले प्रायोजन गरेको प्रथम पुरस्कार एक लाख नगद र ट्रफी हात पार्‍यो । उपविजेतामा सीमित भएको एपीएफले ६० हजार नगद र ट्रफी हात पार्‍यो ।

दोस्रोको नगद पुरस्कार नेपाल सामान ढुवानी ब्यवसायी संघले प्रायोजन गरेको थियो । डायमण्डकी कप्तान ललिता नाथले टिम स्पिरिटका कारण खेल सहजै जित्न सफल भएको बताइन् ।

एपीएफकी कप्तान विनीता बुढाथोकीले आफ्नो एक महत्वपूर्ण खेलाडी अभाव रहदा टिम सेट नहुनु नै हारको कारण बनेको प्रतिक्रिया दिइन् ।

त्यस्तै तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पुलिस क्लबले आर्मी क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । पुलिसले आर्मीलाई २५–१७, २६–२४ र २५–१९ ले हरायो । तेस्रो भएको पुलिसले नगद ३० हजार रुपैयाँ र ट्रफी हात पार्‍यो । तेस्रो नगद पुरस्कार पर्वत क्लब हङकङले प्रायोजन गरेको छ ।

प्रतियोगितामा न्यू डायमण्डकी प्रतिभा माली सर्बोत्कृष्ट खेलाडी चुनिइन । प्रतिभाले नगद पाँच हजार र ट्रफी जितिन् । विधागत उत्कृष्टमा न्यू डायमण्डकै ललिता नाथले बेस्ट क्विइकर, एपीएफकी सरस्वती चौधरी बेस्ट स्पाइकर, एपीएफकै रेश्मा भण्डारी बेस्ट सर्भर, पुलिसकी कोपिला उप्रेती बेस्ट ब्लकर, पुलिसकै कमला पुन बेस्ट डिफेन्स र आर्मीकी जानकी भण्डारी बेस्ट लिफ्टर घोषित भइन् ।

विधागत उत्कष्ट सबैले नगद तीन हजार पुरस्कार र ट्रफी जिते । न्यु डायमण्डका प्रशिक्षक कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए ।

प्रतियोगिताको विजेता खेलाडीलाई रेडियो दिदीबहिनीकी अध्यक्ष एवम् सांसद कल्पना चापागाई, नेपाल तरुणदलका केन्द्रीय सदस्य विद्वान गुरुङ, नेपाल भलिबल संघका उपाध्यक्ष यम बहादुर गुरुङ, पश्चिमाञ्चाल क्षेत्रीय भलिबल संघका कोषाध्यक्ष हरिबहादुर श्रेष्ठ, प्रथम पुरस्कार प्रायोजक साबित्री कञ्चन जंगा अगरवत्ति उद्योगका म्यानेजर पुस्कर केसी, खगेश्वरी इन्टर प्राइजेजका प्रोप्राइटर नारायण शर्मा, प्रतियोगिता संयोजक अरुण श्रेष्ठले पुरस्कृत गरे ।