बटौली, २८ फागुन । नेकपा एमालेका नेताहरुले भैरहवामा हुने आम सभामा ५० हजार बढी कार्यकर्ता उतार्ने दावी गरेका छन् । आज विहान बुटवलमा पत्रकार सम्मेलन गर्दै नेताहरुले भैरहवामा हुने सभा हालसम्मकै सबैभन्दा ठूलो हुने बताएका छन् ।
मेची महाकाली अभियान अन्तर्गत अभियान भोली प्रदेश नम्बर ५ मा प्रवेश गर्दैछ । भैरहवाको अञ्चलपुरमा हुने सभामा आउने टोलीलाई भोलि विहान वर्दघाटबाट स्वागत गरिनेछ । वर्दघाटको स्वागतपछि नवलपरासीको भुमहीमा पहिलो आमसभा हुने एमालेले जनाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपालसहितका केन्द्रीय पदाधिकारीहरु अभियानमा रहेका छन् । भुमहीको सभापछि अभियान बुटवल हुदै भैरहवाको अञ्चलपुरमा हुने आमसभामा जाने एमाले उपमहासचिव तथा प्रदेश कमिटी संयोजक विष्णु पौडेलले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै पौडेलले एमालेको अभियान कसैको विरुद्धमा नभई राष्ट्रियताको लागि भएको बताए । सवै नेपालीको पक्षमा रहेको अभियान अहिलेको मुख्य चासोको विषय भएको उनले बताए । आपसी एकता, सद्भाव कायम गर्नका लागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले यसलाई कसैले अवरोध गर्न आवश्यक नरहेको बताए । संविधान निर्माणको अगुवा दलले संविधानको रक्षाका लागि गरेको अभियान संविधान अनुसार नै भएको बताए । कुनै पनि राजनीतिक शक्तिलाई नेपालको जुनसुकै स्थानमा जानका लागि कसैले अवरोध गर्न नहुने उनले बताए । उनले सप्तरीमा भएको घटना दुःख भएको भन्दै त्यहा स्थगित भएको तीन दिनको अभियान दोस्रो चरणमा सञ्चालन गर्ने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै एमालेका अर्का उपमहासचिव घनश्याम भुसालले सप्तरीमा भएको अवरोध एमालेको अभियानमा नभई एजेण्डामा भएको बताए । यो अभियानले संविधान कार्यान्वयन, निर्वाचनको माहोल निर्माण र जनमत संकलनका लागि भएको बताए ।
नेता भुसालले संविधान कार्यान्वयन अत्यन्त चुनौतिपूर्ण रहेको भन्दै सबै शक्तिहरु एक हुनुपर्ने बताए । क्रान्तिमा सहभागि भएका शक्तिहरु एक भएमात्रै क्रान्तिबाट प्राप्त उपलब्धी बचाउन सकिने उनले बताए । संविधान कार्यान्वयनका लागि तीन पार्टी एक स्थानमा उभिनुपर्ने वा तीन पार्टी वरावरको जनमत एउटा पार्टीले लिनुपर्ने दुई विकल्प रहेको उनले बताए । एमालेले संविधान कार्यान्वयनका लागि हदैसम्मको तत्परता देखाइरहेको बताए ।
भैरहवाको सभापछि नेताहरुको बुटवलमा बास बस्ने एमालेले जनाएको छ । फागुन ३० गते सैनामैनाको रामापुरमा खाना खाने कार्यक्रम पछि कपिलवस्तुको चार नम्बरमा सभा हुने बताइएको छ ।











प्रतिक्रिया