काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।
कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलका अनुसार आज विहान बुढानिलकण्ठमा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका महानिर्देशक युआन जिबिंगको नेतृत्वमा आएको चिनिया प्रतिनिधिमण्डलले देउवासँग शिष्टाचार भेट गरेको हो ।
सभापति देउवा र चिनियाँ प्रतिनिधिमण्डल करिब ४५ मिनेट लामो छलफलमा नेपालको वर्तमान समसामयिक राजनीतिक अवस्था तथा नेपाल–चीन बीचको आपसी सम्बन्ध र सहयोगका विषयमा कुराकानी भएको थियो ।
चिनिया प्रतिनिधि मण्डलका नेता जिबिंगले नेपाल–चीन बीचको ऐतिहासिक सम्बन्ध सभापति देउवाको प्रधानमन्त्रीत्वकालमा अझ बढी प्रगाढ बनेको र यसलाई थप सुदृढ र प्रगाढ बनाउन चाहेको बताए ।
देउवालाई चीन भ्रमणको निम्तो
यसैबीच चिनिया प्रतिनिधिमण्डलले सभापति देउवालाई चीन भ्रमणको निमन्त्रणा दिएको छ । र, चिनियाँ नेता तथा जनता उहाँको चीनमा स्वागत गर्न उत्सुक रहेको जानकारी गरायो ।
उक्त भेटघाटका क्रममा सभापति देउवाले— नेपाल एक चीन नीतिप्रति कटिवद्ध रहेको र यसमा शंका गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताए ।
नेपाल र चीन बीच सदियौंदेखि धनिष्ट र सुमधुर सम्बन्ध रहँदै आएको तथा चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा समय समयमा पार्टीको तर्फबाट चीन भ्रमण गर्ने नेपाली कांग्रेसको प्रतिनिधिमण्डलबाट प्राप्त अनुभव र जानकारीले पार्टीलाई लाभान्वित गरेको समेत सभापति देउवाले बताए ।
उक्त अवसरमा सभापति देउवाले— संविधान संशोधन गरी मधेशवादी लगायत सबै दललाई सहमतिमा ल्याएर निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने विश्वास दिलाए । नेपालको विकासमा चीन सरकार र त्यहाँको जनताले गर्दै आएको सहयोग र सद्भावको उच्च सह्राना गर्दै सभापति देउवाले उपयुक्त समयमा चीन भ्रमण गर्ने समेत चिनिया प्रतिनिधिमण्डललाई आश्वस्त पारे ।












प्रतिक्रिया