काठमाडौं, २८ फागुन । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत पाँचौ चरणको एक दिवसीय खेलमा नेपालले टस हारेर केन्याविरुद्ध व्याटिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै सुरु भएको पहिलो खेलमा केन्याले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
कप्तान पारस खड्काले आजको खेल नखेल्ने निर्णय गरेका छन् । पारसको यसै महिनाको सुरुमा पेटको शल्यक्रिया भएको थियो । उनी अभ्यास खेलका लागि भारत पनि गएका थिएनन् । पारस नखेल्ने भएपछि उपकप्तान ज्ञानेन्द्र मल्लले कप्तानी सम्हालेका छन् ।
यसैबीच युवा खेलाडी सुनील धमला र दीपेन्द्र सिंह ऐरीले यसै खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गर्दैछन् । खेल पनि ३८ ओभरमा झारिएको छ ।
बिहान ९ः१५ देखि हुनुपर्ने खेल वर्षाले गर्दा ढिला गरी सुरु भएको हो । दर्शक भने बढ्दै गएका छन् । ११ हजार बढी टिकट बिक्री भएको जनाइएको छ ।
आज र सोमबार गरी दुई खेल खेल्न केन्या नेपालमा आएको हो । शीर्ष चारभित्र अटेर विश्वकप छनोटमा छानिन पनि नेपाललाई यो खेल जित्नैपर्ने छ ।












प्रतिक्रिया