बर्दिया, २६ फागुन । नेपाल पत्रकार महासङ्घ बर्दियाको पुरानो कार्य समितिले पदभार हस्तान्तरण गरेको छ ।
जिल्ला शाखाको फागुन २० गतेको अधिवेशनबाट निर्विरोध चयन भएका नवनिर्वाचित अध्यक्ष राजेन्द्रप्रसाद धिताललाई पदभार हस्तान्तरण गरिएको हो ।
सांसद सञ्जयकुमार गौतमको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारी, सदस्यलगायत सभासद्लाई अध्यक्ष धितालले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।
कार्यसमितिको रजिष्टर, जग्गाको लालपुर्जा, आर्थिक प्रतिवेदनलगायत महासङ्घका सम्पूर्ण दस्तावेज अध्यक्ष धितालले बुझनु भएको हो ।
प्रमुख अतिथि गौतमले बर्दिया जिल्ला पर्यटनको हिसाबले धेरै अगाडि बढिसकेको सन्दर्भमा पत्रकारले दरिलो कलम चलाउनुपर्ने बताउनुभयो । साथै, उहाँले चितवन पछिको जीवजन्तु (वाइल्ड लाइफ) पर्यटनको मनमोहक गन्तव्य पनि बर्दिया भएको स्मरण गराउनुभयो ।
नेपाल पत्रकार महासङ्घ बर्दिया तथा पत्रकारको पेसागत सुरक्षाका लागि कुनै पनि बेला सहयोग गर्न तयार रहेकोे प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । रासस















प्रतिक्रिया