काठमाडौं, २३ फागुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै पक्षलाई उत्तेजित नहुन र संयमित भएर बस्न अपील गरेका छन् ।
सप्तरी घटनाका विषयमा संक्षित प्रतिक्रिया दिँदै अध्यक्ष यादवले भने, ‘सबै पक्ष उत्तेजित नभएर बस्नु पर्छ । संयमित भएर बस्न आग्रह गर्छु ।’
एमालेको मेची महाकाली राष्ट्रिय अभियानपछि भएको झडपमा प्रहरीको गोली लागेर मधेसी मोर्चाका एक कार्यकर्ताको मृत्यु भएपछि यादवले संयम हुन आग्रह गरेका हुन् ।
उनले प्रहरीले निहत्था जनतालाई गोली हानेर हत्या गरेको आरोप लगाए । ‘प्रहरीसँग झडप भएको होइन । नरसंहार गरेको छ । प्रहरीले गोली हानेर मारेको हो’, आक्रोशित हुँदै अध्यक्ष यादवले भने ।
अध्यक्ष यादवले कसैको विरोध ग¥यो भन्दैमा जनतालाई हत्या गर्न पाइँदैन नि ? भनेर प्रतिप्रश्न गरे । उनले भने, ‘निहत्था जनतामाथि गोली प्रहार गर्न पाइँदैन । विरोध गर्ने अधिकार सबैको हो ।’
एमालेको कार्यक्रमलाई विथोल्न राखेको कार्यक्रमले गर्दा स्थितिले झडपको रुप लिएको भनेर सोधिएको प्रश्नको जवाफमा अध्यक्ष यादवले भने, ‘राजनीतिक स्वतन्त्रता सबैलाई समानरुपले छ । विरोध र समर्थन आफ्नो ठाउँमा छ । तर, राज्यले निहत्था जनतालाई गोली हान्यो ।’















प्रतिक्रिया