२ कार्तिक २०८३, सोमबार

यसरी चर्चा बटुल्दै छन् कृष्णनगरका नायक श्यामकुमार

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

कृष्णनगर, २३ फागुन । नायक र गायक दुवैको भूमिका खेलेका श्यामकुमार मिश्रको नेपाली चलचित्र ‘ब्वाइफ्रेण्ड’ नौलो स्वादका साथ चैतको दोस्रो साता प्रदर्शन हुने भएको छ ।

युवापिँढीलाई लक्षित गरी निर्माण गरिएको चलचित्र ‘ब्वाइफ्रेण्ड’ मा भोजपुरी गीतले दर्शकमाझ अझ लोकप्रियता कमाउने गायक श्यामकुमार मिश्रको दाबी छ । “तोरी लच्केली जब कमरिया, बल साय जैसे नगिनियाँ,, कसम से जान मारेलु, मगहिया पान लागेलु …” बोलको भोजपुरी गीतले मधेशी समुदायमा अझ तहल्का पिट्ने श्यामको विश्वास छ ।

श्यामकुमार मिश्र चलचित्र ‘ब्वाइफ्रेण्ड’ मा मुख्य नायकका साथै के.क. सिंहको संगीत रहेको उक्त भोजपुरी गीतमा स्वर भरेका छन् । आगामी चैत १४ गते चितवनको नारायणघाटमा विशेष प्रदर्शन हुने नायक तथा गायक मिश्रले जानकारी दिए । लगत्तै कपिलवस्तुको कृष्णनगरमा समेत चलचित्र ‘ब्वाइफ्रेण्ड’ को च्यारिटी सोको लागि तयारीमा जुटेको उनले बताए ।

चलचित्र ‘ब्वाइफ्रेण्ड’ मा श्यामकुमार मिश्र एउटा आवारा केटाको रोल गरेका छन् । उनी नायिका पुजा थापाको ब्वाइफ्रेण्डको भूमिका खेलेको छन् । यस्तै चलचित्र ‘ब्वाइफ्रेण्ड’ मा पुस्कर रेग्मी र महिमा शिलवालको जोडी तथा सोनम थापा र शोभा भण्डारीको अर्को जोडीले ब्वाइफ्रेण्ड र गर्लफ्रेण्डको अभियन गरेका छन् । छाडापनका कारण सोनम र महिमामा एचआईभी देखिन्छ । एचआईभी देखिएपछि सोनम बिष सेवन गरी आत्महत्या गरेको कथावस्तु समेटिएको छ ।

विशेषगरी आजकलका युवापिँढीमा नसालु पदार्थ सेवन गर्ने, मोजमस्ती गर्ने जस्ता विकृति विसंगतितर्फ बढी आकर्षित बन्दै गएको चलचित्रमा झल्काइएको छ । युवा पिंढीमा मौलाएको ब्वाईफ्रेण्ड र गर्लफ्रेण्ड बनाउने मात्र नभएर अभिभावकले आफ्ना छोराछोरीप्रति बेवास्ताको परिणाम कस्तो हुन्छ भन्ने कथावस्तुमा समेटिएको छ । चलचित्र ‘ब्वाइफ्रेण्ड’ मा निर्देशक मदन घिमिरेले भोजपुरी गीत समावेश गरेर दर्शकलाई नौलो स्वाद पस्कने प्रयास गरेका छन् ।

भोजपुरी डान्समा जानु अर्याल र डिलुको नृत्य रहेको छ । चलचित्रमा सरोज खनाल महिमाको बुवाको रोलमा छन् । ‘प्रिया ओ प्रिय’ बोलको गीत सोंचे जस्तो नभएको भन्दै निर्माता कृष्ण खनाल उक्त गीतको पुनः छायाँकनका लागि यतिबेला राजधानी पुगेका छन् । प्रस्तुतकर्ता सूर्य बुढाथोकीका अनुसार उक्त गीतको छायाँकन सिन्धुलीको खुरकोट लगायतका रमणीय स्थानहरुमा हुनेछ ।

बुढाथोकी फिल्म प्रोडक्सन प्रालिद्वारा निर्माण भएको ‘ब्वाइफ्रेण्ड’ मा मञ्जु श्रेष्ठ, मोहन निरौला, पुष्कर रेग्मी समेतको अभिनय रहेको छ । द्वन्द्व शंकर महर्जन, संगीत टंक बुढाथोकी, नृत्य पुनम राई, श्रृंगार संगिता लामा, क्यामारा कृष्ण श्रेष्ठको रहेको छ ।

कृष्णनगर निवासी श्यामकुमार मिश्रको विशेष भूमिका रहेको नेपाली चलचित्र ‘ब्वाइफ्रेण्ड’ बाहेक नेपाली चलचित्र ‘किङ्ग’, ‘देउता’, ‘नालायक’ मो सफलतापूर्वक अभिनय गरिसकेका छन् । गायन, म्युजिक भिडियो हुँदै नेपाली चलचित्रको पर्दामा देखापरेका कृष्णनगरका मिश्र यतिबेला जिल्लाका साथै देश विदेशमै चर्चित बनेका छन् । कलाकारितासँगै मिश्र समाजसेवामा समेत निकै लोकप्रिय बनेका छन् ।

उनी विभिन्न क्षेत्रबाट सम्मानित समेत भएका छन् । उनी “पाख्रिन फिल्मस्” तथा “सातौं डिजिटल फिल्म अवार्ड–२०७२”, “चौथो म्युजिक खबर म्यूजिक अवार्ड–२०१५”, “सातौं एलजी डिजिटल फिल्म अवार्ड–२०७२” बाट सम्मानित भएका छन् । उनी स्थानीय विभिन्न संघसंस्था एवं निकायबाट समेत सम्मानित भैसकेका छन् । सम्मानले उनमा अझ उत्साह थपेको छ । जिल्लाको कृष्णनगर निवासी श्यामले यतिबेला समग्र जिल्लाको सम्मान बढाउन महत्वपूर्ण योगदान गरेका छन् ।