१ कार्तिक २०८३, आइतबार

रुँदै-रुवाउँदै रेडियो नेपालबाट बिदा भइन् कोमल ओली (तस्बिरसहित)

198.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं, २२ फागुन । २३ वर्ष लामो रेडियो नेपालको यात्रालाई गायिका एवम् सञ्चारकर्मी कोमल ओलीले आइतबारदेखि विश्राम दिएकी छिन् । अब कहिल्यै पनि उनको स्वर रेडियो नेपालको समाचारमा सुन्न पाइने छैन ।

गायिका एवम् सञ्चारकर्मी ओलीलाई आइतबार सिंहदरबारस्थित रेडियो नेपालको परिषरमा विशेष कार्यक्रम गरेर औपचारिक रुपमा बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा आफू पनि रोएकी ओलीले सहकर्मीहरूलाई पनि रुवाएकी थिइन् ।

दैनिक नेपाल डटकमसँग कुरागर्दै गायिका ओलीले भनिन्, ‘मेरो २३ वर्षको रेडियो नेपालको यात्रामा आजदेखि विश्राम लागेको छ । मलाई कोमल ओली बनाउने रेडियो नेपाल मेरो मनमस्तिकमा सधैँ रहनेछ । रेडियो नेपालमा म रहने छैन । तर, त्यसको याद सधै रहनेछ ।’

उनले भनिन्, ‘मेरो बिदाइमा राखिएको कार्यक्रममा मलाई बोल्न समय दिइएको थियो । मन थाम्न सकिन । भक्कानिएर रोएँ । रेडियो नेपालसँगको मेरो २३ वर्षसम्मको मायाले मन थाम्न सकिन । आँखाबाट आफै आँशु झरे ।’

गायिका ओलीले भनिन्, ‘रेडियो नेपालमा काम गर्दा सधै हाँसीखुसी काम गरेँ । त्यो बेला म गाउँबाट आएको साधारण व्यक्तिलाई रेडियो नेपालले अवसर दियो । कोमल ओली बनायो । मभित्र प्रतिभा भए पनि त्यसलाई सदुपयोग गर्ने अवसर यही रेडियो नेपालले दियो ।’


रेडियो नेपालको जागिरे भएपछि आफूलाई हेर्ने दृष्टिकोणमा ठूलै परिवर्तन आएको बताएकी ओलीले भनिन्, ‘हरेक दिन मैले सिक्ने मौका पाएँ । धेरै कुरा सिके ।’

सहभागीहरूले गायिका एवम् सञ्चारकर्मी ओलीले रेडियो नेपाललाई सधै बोकेर हिँडेको भन्दै प्रशंसा गरेका थिए । उनीहरूले ओलीलाई उचित समयमा उचित निर्णय गरेको भन्दै प्रशंसा पनि गरे ।

गायिका एवम् सञ्चारकर्मी ओलीका आँखा रसाएपछि हलमा सन्नाटा छाएको थियो । सहभागीहरू पनि कोमल ओलीलाई अँगालो हालेर आफ्ना भावना साटेका थिए ।

बिदाइ कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की, नायब कार्यकारी निर्देशकद्वय अशोक बास्कोटा र श्रीभद्र वाग्ले, निर्देशकहरू बुद्धि केसी, खगेन्द्र खत्री तथा सञ्चालक समितिका सदस्यद्वय दुर्गा फुँयाल र डा.नवराज लम्साल तथा रेडियो नेपालका सबै कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

राप्रपाको केन्द्रीय सदस्यमा भारी मतले निर्वाचित ओलीले अब आफ्नो यात्रालाई राजनीतितिर मोडिसकेकी छिन् । दाङ जिल्लाको टिकरी गाउँमा जन्मिएकी ओलीले अब आफूलाई राजनीति र सामाजिक कार्यमा क्रियाशील बनाउने बताइन् ।