६ मंसिर २०८३, आइतबार

एमालेको मेची-महाकाली अभियानले मधेशमा द्वन्द्व बढ्छः महन्थ ठाकुर

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष एवं मधेसी मोर्चाका प्रमुख नेता महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गलत समयमा मेची–काली अभियान सञ्चालन गरेकोले यसले मधेशमा द्वन्द्व बढ्ने चेतावनी दिएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष ठाकुरले भने, ‘अहिले मधेश अशान्त अवस्थामा छ, जनतामा आक्रोश छ, ठाउँ–ठाउँमा आन्दोलनहरु भैरहेका छन्, यस्तो अवस्थाम एमाले जस्तो विगतमा सरकारमा बसेको र फेरि पनि सरकारको नेतृत्व लिन सक्ने पार्टीले गलत समयमा गलत काम गरेको छ, यसले जनतामा गलत सन्देश प्रवाह भएको छ, यसले वातावरणलाई बिर्गाछ, स्थितिलाई भड्काउँछ, यो अभियानले परिस्थिति असहज बन्छ, अभियानबाट उत्पन्न परिस्थितिको जिम्मेवारी एमालेले नै लिनुपर्छ ।’ उनले एमालेको अभियानले असहज स्थिति पैदा हुने खतरा औंल्याए ।

साक्षात्कारमा ठाकुरले भने, ‘हामी अहिले शान्तिपूर्ण आन्दोलनमा छौं, यदि एमाले लठ्ठी लिएर आए उसले मधेशमा नमस्कार पाउँदैन् ।’ यद्यपी उनले आफूहरु मधेशमा द्वन्द्व नभएर शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको स्पष्ट पारे ।

एमालेको अभियानलाई तपाईहरुले प्रतिवाद गर्ने तयारी गर्नुभएको छ अरे नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘हामी कहाँ चुप लागेर बसेका छौं र ? हामी त शान्तिपुर्ण आन्दोलन मै छौं, हाम्रो माँग पूरा हुनुपर्छ, त्यसको लागि लागिरहेका छौं ।’

‘संविधान संशोधन नभएसम्म कुनैपनि चुनाव हुन सक्दैन’

अध्यक्ष ठाकुरले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म देशमा कुनैपनि चुनाव हुन नसक्ने ठोकुवा गर्दै भने, ‘संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्छ, त्यसको विकल्प छैन, हामीले उठाएका माँगहरु मधेशका मात्रै होइनन, यी त देशकै माग हुन्, त्यसैले पहिला संविधान संशोधन गरेर समस्याको समाधान गर्नुपर्छ, अनिमात्रै चुनावको कुरा आउँछ ।’ यद्यपी उनले आफूहरु चुनावको विरोधी नभएको स्पष्ट पारे ।

अध्यक्ष ठाकुरले संविधान जारी गरेझैं बलजफ्ती गरेर चुनाव गर्न खोजिए देशको अवस्था भयावह स्पष्ट पारे । उनले सरकारले स्थानीय तहको निर्वाचनको मिति हतारमा घोषणा गरेर गम्भिर गल्ती गरेको टिप्पणी गरे । उनले भने, ‘सरकारले चुनावको मिति घोषणा गरेर गल्ती गर्यो, अहिले संविधान संशोधन र निर्वाचन दुवै धरापमा परेको छ ।’

‘सरकार फेर्ने कुनै तयारी छैन्’

उनले मधेशी मोर्चा वर्तमान सरकार विस्थापन गर्ने तयारीमा नरहेको समेत स्पष्ट पारे । उनले भने, ‘हामी सरकारलाई रिप्लेस गर्ने सोचमा छैनौं, हाम्रो ध्यान माँग पूरा होस् भन्ने नै हो ।’ यद्यपी उनले मोर्चा कसरी अघि बढ्ने बारेमा अब बस्ने बैठकमा छलफल हुने जनाउँदै थपे, ‘यदि संशोधन प्रस्ताव पारित भएन भने, हामी सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमै जान्छौं ।’