काठमाडौं । रेडियो नेपालले आफ्नो ६७औं वार्षिकोत्सबको अवसरमा प्रदेशस्तरीय राष्ट्रव्यापी आधुनिक संगीत प्रतियोगिता आयोजना गर्ने भएको छ । त्यसका लागि रेडियो नेपालले सात वटै प्रदेशमा कार्यक्रम गर्नका लागि अख्तियारी दिइसकेको जनाएको छ ।
५ नम्बर प्रदेशको छनौट प्रतियोगिता राप्ती साहित्य परिषदसँगको सहकार्यमा यही चैत ११ गते दाङको घोराहीमा हुने संगीतकार सन्तोष श्रेष्ठले जानकारी दिए । उनले भने, ‘घोराहीमा हुने प्रतियोगिताका लागि प्रतियोगीले फागुन २७ गतेभित्र नयाँ रचना र संगीतको प्रतिलिपिसहित फारम भरिसक्नु पर्छ ।’
इच्छुक व्यक्तिहरूले फागुन २७ गते सम्म नयाँ रचना र सङ्गीतको प्रतिलिपिसहित फाराम भरी सक्नुपर्नेछ । सहभागी प्रतियोगीहरूको प्रारम्भिक चरणको छनौट चैत १० गते गरिनेछ ।
प्रारम्भिक चरणबाट उत्कृष्ट देखिएका प्रतियोगीहरूलाई ११ गते अन्तिम प्रतियोगितामा सहभागी गराइने श्रेष्ठले बताए ।
उत्कृष्ट गायक र गायिकाहरूलाई प्रथम पुरस्कार– स्वर्ण पदक, द्वितीय पुरस्कार– रजत पदक र तृतीय पुरस्कार– काश्य पदक तथा प्रमाण–पत्रद्वारा पुरस्कृत गरिनेछ ।
प्रदेशबाट प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरूलाई चैत १८ गते रेडियो नेपाल सिंहदरबारको राष्ट्रिय प्रतियोगितामा समाबेश गराइनेछ ।
विस्तृत जानकारी र फाराम भर्नको लागि रेडियो नेपाल रिले स्टेशनमा आवद्ध विष्णु कुवरसँग ९८४४९२८५७३ मा सिधै सम्पर्क गर्न सक्ने जनाएको छ ।















प्रतिक्रिया