२ कार्तिक २०८३, सोमबार

‘क्रान्तिवीरको सपना’ विमोचित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान कार्यान्वयन भए मात्र जननायक रामप्रसाद राईको सपना पूरा हुने बताएका छन् ।

राईको १०८ औँ जन्मजयन्तीका अवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा ‘क्रान्तिवीरको सपना’ उपन्यास विमोचन गर्दै पूर्वसभामुख नेम्वाङले तीन तहको निर्वाचन गरे मात्र राईको क्रान्तिको सपना पूरा हुने बताएका हुन् । उनले भने, “राईले देखेको गणतन्त्रको सपना अहिलेसम्म पूरा भएको छैन ।”

नेता नेम्वाङले राईले ठूलो अवसर पाउँदा पाउँदै पनि नेपाली जनताका निम्ति चालेको कदम क्रान्तिवीरको कदम भएको उल्लेख गरे ।
उपन्यासकार प्रदीप नेपालले एकतन्त्रीय राणाशासनको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि गरेको राईको योगदानलाई राज्यले बिर्सन नहुने बताए । उनले राईका बारेमा कैयौँ कृति र गीत निस्केको बताउँदै अब उनको बारेमा वृत्तचित्र र चलचित्र निर्माण गर्न आवश्यक रहेको सुझाव दिए ।

कृतिका समीक्षक डा‍. देवी नेपालले मुलुकको पूर्वी भागको क्रान्तिको इतिहास बुझ्न पुस्तक ऐतिहासिक दस्तावेज भएको बताए ।
प्रतिष्ठानका अध्यक्ष तारादेवी राई, महासचिव देवान राईलगायतले राईले नेपालको क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेकाले राष्ट्रिय विभूति घोषणा गर्न माग गरे।

विसं १९६२ मा भोजपुरको वासिखोरा–५ सान्दिलुङमा जन्मिएका राई ४३ वर्षका उमेरमा बेपत्ता भएका थिए । राईको सम्झनामा विसं २०५२ प्रतिष्ठान खोलेर उनको योगदानका बारेमा विभिन्न लेख, रचना र पुस्तक प्रकाशन हुँदै आइरहेको छ ।