१ कार्तिक २०८३, आइतबार

एमाले रहेसम्म राष्ट्रघाती विधेयक फेल हुन्छ : बामदेव गौतम

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । एमालेका प्रभावशाली नेता बामदेव गौतमले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संविधान संशोधन विधेयक फेल वा पास जे भएपनि निर्वाचनमा जाने प्रतिवद्धता नजनाउँदासम्म विधेयक अगाडि बढ्न नसक्ने जनाएका छन् ।

‘यो राष्ट्रघाती संविधान संशोधन विधेयक एमाले रहँदासम्म कुनै पनि हालतमा पारित हुँदैन’, नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने, ‘मधेसी मोर्चाले सहिछाप गरेर नआउँदासम्म विधेयक संसदमा अगाडि बढ्न सक्दैन ।’ उनले भने, ‘संशोधन विधेयक विफल वा पास जे भएपनि चुनावमा जान्छु भनेर सहिछाप गर्नुपर्छ ।’

मधेसी मोर्चाले संशोधन विधेयक परिमार्जनसहित पारित गर्नुपर्ने अडान राख्दै आएको बेला एमालेका उपाध्यक्ष गौतमले विधेयक पारित गर्न नदिने बताएका हुन् ।

मधेसी मोर्चाका कार्यकर्ताले तपाईलाई जनकपुरधाममा खेदे नि ? भन्ने प्रश्नमा नेता गौतमले भने, ‘बामदेवलाई खेद्न सक्ने यो मुलुकमा जन्मेका छैनन् । बरु मधेसी मोर्चालाई लखेटिन्छ । एमालेका कार्यकर्ताले मधेसी मोर्चालाई लखेटेका हुन् ।’

स्थानीय निर्वाचन तोकिएको समयमा हुने बताएका गौतमले भने, ‘महन्थ ठाकुर, राजेन्द्र महतोले भन्दैमा मधेसी जनताले भोट हाल्दैनन् भन्ने कुरा गलत हो । मधेसी जनता भोट हाल्न आउँछन् ।’ मधेसी मोर्चा चुनावबाट सखाप हुने भएपछि मधेस केन्द्रित दलका नेताहरू विरोधमा उत्रिएको गौतमले दाबी गरे ।

तपाई त मधेस विरोध नेता हो रे त ? भन्ने प्रश्नमा गौतमले भने, ‘दिमाग समाप्त भएकाहरूले बामदेवलाई मधेस विरोध भन्छन् । बामदेवले तराईबाट राजनीति शुरु गरेको हो ।’ उनले आफूलाई मधेस विरोधको आरोप लगाएर व्यक्तिगत स्वार्थ लिन खोजेको छ भने त्यो घातक हुने चेतावनी दिए ।

बाबुराम भट्टराईले सर्वपक्षीय सरकारको कुरा गरेका छन् नि ? भन्ने प्रश्नमा उनले भने, ‘बाबुरामका यस्ता कुराको काम छैन । सर्वपक्षीय सरकारका कुरा हुँदैनन् । सर्वपक्षीय सरकार चाहिएको थियो भने संसदबाट राजीनामा गरेर भाग्नु हुँदैन थियो । संसदबाट भाग्ने अनि अहिले आएर सर्वपक्षीय सरकार चाहिने ?’