काठमाडौं, १० फागुन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले देशभरका पृतनापतिलाई जस्तोसुकै परिस्थितीको सामना गर्नका लागि तयार रहन निर्देशन दिएका छन् ।
सरकारले निर्वाचन घोषणा गरेसँगै मधेसमा आन्दोलन पुनः सुरु हुनु र पछिल्लो समय विखण्डनकारी सल्बलाउँदा सुरक्षामा चुनौति थपिएको भन्दै क्षत्रीले मंगलबार जङ्गी अड्डामा आयोजित एक दिने पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै जस्तोसुकै परिस्थितीको सामना गर्नका लागि तयार रहन मातहत विभागहरुलाई निर्देशन दिएका हुन् ।
प्रधानसेनापति क्षत्रीले पेशागत दक्षतालाई थप अभिवृद्धि गर्न तालिम तथा बन्दोबस्तीमा विशेष ध्यान केन्द्रित गर्न निर्देशन समेत पृतनापतिहरुलाई दिए ।
नेपाली सेनाको क्षेत्रगत रुपमा पाँच र काठमाडौँ उपत्यकामा एक गरी छ वटा पृतना रहेको छ । उपरथीले पृतनाको नेतृत्व गर्दै आएका छन् ।
यसअघि सोमबार सेनाको शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा आयोजित कार्यक्रममा पनि प्रधानसेनापति क्षत्रीले देशको अवस्था अनिश्चित, जटिल र तरल अवस्था रहेकाले राष्ट्रिय सुरक्षामा चुनौती बढेको बताएका थिए । उनले जातीय पहिचान र धर्मका नाममा भएको राजनीतिले सुरक्षा चुनौती थपेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
प्रधानसेनापति क्षत्रीले संविधानमा प्राप्त अधिकारअनुसार सार्वभौमसत्ता, अखण्डता, मुलुकको एकताका लागि सेना प्रतिबद्ध भएर काम गरिरहेको र गरिरहने प्रतिबद्धता जनाएका थिए ।
पृतनापतिद्धारा आ-आफ्नो क्षेत्रबारे बिफ्रिङ

बैठकमा देशैभरीका पृतनापतिले आ-आफ्नो क्षेत्रको सुरक्षा अवस्थाबारे बिफ्रिङ गरेका थिए । ‘समन्वयात्मक बैठकको क्रममा सम्बन्धित विभागहरुबाट वस्तुस्थितिको विश्लेषण तथा समिक्षा प्रस्तुत भयो’ सैनिक जनसम्पर्क निर्देशनालयले भनेको छ– ‘सबै पृतनापतिहरुले आ–आफ्ना बिषयबस्तुहरुको बारेमा प्रस्तुतिकरण गरे ।’
बैठकमा रक्षा सचिव श्रीधर सापकोटा, सबै पृतनापतिहरु लगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।
















प्रतिक्रिया