१ कार्तिक २०८३, आइतबार

एमालेले देश टुक्राएर द्वन्द्व गर्न खोज्यो, अब काँग्रेस विरुद्धमा उत्रिन्छः सभापति देउवा

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेलम्ची, ७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका विषयमा हिमाल, पहाड र तराईलाई मिलाएर लैजानुपर्ने बताउनुभयो ।

केही विपक्षी दलहरुले देशलाई टुक्र्याएर द्वन्द्व गर्न खोजेको आरोप लगाउँदै नेपाली काँग्रेस त्यस्तो क्रियाकलापका विरुद्धमा उत्रने चेतावनी दिनुभयो ।

नेपाली काँग्रेस क्षेत्र नं १ सिन्धुपाल्चोकले आज खाडीचौरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि देउवाले सबै पार्टीसित सहमति गरी आगामी बर्षको माघभित्रमै तीनै तहको निर्वाचन गर्न जरुरी रहेको बताउनुभयो ।

भूकम्पपछि बन्द भएको तातोपानी नाका सञ्चालनका लागि नेपाली काँग्रेस अग्रसर रहेको र कुनै पनि हालतमा नाका खुलाएरै छोड्ने देउवाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा देउवाले आगामी चुनावमा नेपाली काँग्रेसले पहिलो स्थान हासिल गर्ने दाबी गर्नुभयो ।

त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले हिमालदेखि तराईसम्मका नेपाली एकअर्काको दुष्मन हुन नसक्ने र भौगोलिक हिसाबले तिनै ठाउँका जनतालाई एकै किसिमले हेर्नुपर्ने बताउनुभयो ।

नेपाल र मित्रराष्ट्र चीनबीच सीमा जोडिएको तातोपानी नाका हालसम्म नखुल्नाले देशले अर्बौंको राजस्व घाटा व्यहोर्नुपरेको बताउनुभयो ।

आर्थिक विकासका लागि तातोपानी नाका खोल्न जरुरी रहेको बताउँदै मन्त्री लेखकले सिन्धुपाल्चोक जिल्लाका सडकका परियोजना प्रतिवेदन (डिपिआर) आफ्नो मन्त्रालयअन्तर्गत पर्ने भएकाले जिल्लाभरि नै करोडौँ करोड रकम यही आर्थिक वर्षभित्र पठाउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं १ का सांसद तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले स्थानीयको समस्या र मागलाई सम्बोधन गरी अगाडि बढाउन नेपाली काँग्रेस सदैव जनताका साथमा रहने बताउनुभयो ।

बस्नेतले १५ वर्षभित्र सिन्धुपाल्चोक जिल्लाका हरेक सडकहरु कालोपत्र गर्ने तथा हरेक घरमा खानेपानीको धारा पु¥याउने र हरेक ठाउँमा फलामे बिजुलीको पोल गाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय नेता ज्ञानेन्द्रबहादुर कार्की, बहादुरसिंह लामा, सरिता प्रसाईं, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेत, जिल्ला सभापति विकास लामा लगायतले सम्बोधन गर्नुभएको थियो ।

नेकाँ क्षेत्र नं १ का सभापति बालकृष्ण बस्नेतको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) बाट ५०० भन्दाबढी कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । रासस