१ कार्तिक २०८३, आइतबार

प्रदीपलाई दोहोरो स्वर्ण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । सीतापाइलाका प्रदीप राईले सातौं राष्ट्रिय विद्यालयस्तरीय सोतोकान कराते प्रतियोगिताको पुरुष एकल कातामा शुक्रबार स्वर्ण जितेका छन् । प्रदीपले टिमसंग मिलेर टिम कातामा पनि स्वर्ण हात पारे ।

सीतापाइलास्थित शिशु निकुञ्ज उमाविद्वारा आयोजित प्रतियोगितामा प्रदीपले आयोजक शिशु निकुञ्जका निखिल केसीलाई पछि पारे । त्रिनेत्रका बलराम बज्गाईं तेश्रो भए ।

नेपाल सोतोकान कराते संघको वार्षिक कार्यक्रम अनुसार आयोजना गरिएको प्रतियोगिताको महिला टिम कातामा सीतापाइलका निशा श्रेष्ठ, सीता तामाङ र सुजना तामाङको टिम पहिलो भए ।

उक्त टिमले शिशु निकुञ्जका सुशीला मोक्तान, कुसुम तामाङ र लक्ष्मी दुलालको टिमलाई हराए । पुरुष टिम कातामा सीतापाइलाकै प्रदीप, सरोज दाहाल र विजय घर्तीको टोली पहिलो भए भने कान्तिपुर एकेडेमीका अमन रोका, सविन गुरुङ र विवेक श्रीपालीको टोली दोश्रो बने ।

प्रतियोगिताको नेपाल कराते महासंघका महासचिव एवं नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसीले निर्णायक कृष्णकुमार मानन्धरलाई खेल सामाग्री हस्तान्तरण गरी उद्घाटन गरे ।

सो अवसरमा केसीलगायत सोतोकान कराते संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पा र शिशु निकुञ्जका प्रिन्सिपल प्रकाश शाहीले खेलकुदको महत्व बारे चर्चा गरेका थिए ।

निर्णायकको तर्फबाट कृषा शेर्पा र खेलाडीको तर्फबाट कुसुम तामाङले शपथ ग्रहण गरेका थिए । दुईदिने प्रतियोगितामा ४ सय खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।