काठमाडौं, २ फागुन । जनयुद्ध लडेको आफ्नो दल माओवादी पार्टी चत्रक्कै छाडेर नयाँ शक्ति पार्टी नेपाल खोलेर बसेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘एकसिटे’ साना दलहरूतिर नजर घुमाउन थालेका छन् ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक भट्टराईले थरुहट तराई पार्टी (लोकतान्त्रिक)लाई आफ्नो पार्टीमा गाम्भे तयारी गरेको स्रोतको भनाइ छ । यस विषयमा राखिएको जिज्ञासामा सो दलकी सांसद गंगा चौधरीले तत्काल पार्टी एकीकरण अस्वीकार गरिन् ।
उनले भनिन्, ‘पार्टी एकीकरणको कुरा चलेको हो । नयाँ शक्ति पार्टीसँग मात्रै होइन अरु दलसँग पनि कुरा चलेको छ । तर, ठोस निर्णयमा पुगेका छैनौँ ।’
माओवादीमा रहँदा आफू निकट मानिने सांसद टोपबहदुर रायमाझी, प्रभु साह, भक्ति पाण्डे(अहिले निधन भइसकेको), रामनारायण बिडारी जस्ता नेताहरूलाई आफूमा ल्याउन नसकेका भट्टराईले ‘एकसिटे’ सांसद रहेका पार्टीहरूलाई गाभ्ने तयारी गरेकोमा धेरैले आशंका गरेका छन् ।
स्रोतका अनुसार संयोजक भट्टराईले मधेस केन्द्रित केही दलहरूसँग पनि पार्टी एकताका लागि प्रयास गरिरहेका छन् । प्रयास भए पनि ठोस परिणाम आउन सकेको छैन ।
संसदमा आफ्नो दलको प्रतिनिधित्व नहुँदाको पीडा खेपिरहेका संयोजक भट्टराईले एउटा सांसद भए पनि पार्टीमा भित्र्याउने योजनासहित सम्वादहरू चलाएका हुन् । बाबुरामले चाहेर पनि माओवादीबाट सांसद आफूमा ल्याउन सक्दैनन् ।
सांसद ल्याउनका लागि उनले माओवादी पार्टी फुटाउनु पर्छ । ‘बाबुराम भट्टराईको पछाडि लागेर अहिले नयाँ शक्तिमा जान माओवादी पार्टी फुटाउन सकिँदैन’, बाबुराम भट्टराई निकट मानिने माओवादी केन्द्रका एक सांसदले भने ।
माओवादीमा रहेका उनी निकटका सांसद एवम् नेताहरूले भट्टराई र नयाँ शक्ति पार्टीलाई विश्वास नगरिरहेका बेला साना दलका सांसदहरूसहितका दल कसरी नयाँ शक्तिमा बिलय हुने हुन् हेर्न बाँकी छ ।















प्रतिक्रिया