२ कार्तिक २०८३, सोमबार

उदयको ‘मेरो देश’ फागुन ६ गते अल नेपाल रिलिज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उदय सापकोटाद्वारा निर्माण गरिएको फिल्म ‘मेरो देश’ले रिलिजको मिति कुरेर बसेको छ । देशभक्तिका साथै सामाजिक कथावस्तु बोकेको ‘मेरो देश’ फागुनको ६ गते अल नेपाल रिलिज हुनेछ ।

फिल्मका कार्यकारी निर्माता सापकोटाले भने, ‘फागुन ६ गते अल नेपाल रिलिज हुन थालेको फिल्मले समाजलाई सानो भएपनि सकारात्मक सन्देश दिनेछ ।’ फिल्मले कमाउनेभन्दा पनि त्यसले दिने सन्देशबाट आफू प्रफुल्लित हुने सापकोटाले बताए ।

फिल्म राम्रो बनेको उनको दाबी छ । ‘फिल्मलाई हरेक हिसाबबाट राम्रो बनाएको छु’, कार्यकारी निर्माता सापकोटाले भने, ‘फिल्मले कमाइ गर्नेछ । यदि कमाइ गर्न सकेन भने पनि ठीकै छ । तर, फिल्मले समाजलाई सानो भएपनि सकारात्मक सन्देश दिनेछ । म त्यसैमा खुसी छु ।’

‘मेरो देश’लाई देव नेपालले निर्देशन गरेका हुन् । देशभक्तपूर्ण कथा रहेको फिल्मलाई राजधानी उपत्यकाभित्र सुनील मानन्धर र उपत्यका बाहिर एफडी कम्पनीले फागुन ६ गते एकसाथ रिलिज गर्नेछन् ।

फिल्मका निर्माता पार्वती मैनाली र प्रभाकर सापकोटा हुन् । ‘मेरो देश’का संगीतकार भने बीबी अनुरागी हुन् । फिल्मको कथा र गीत पनि सापकोटा कै हो ।

फिल्ममा नीर शाह, आयूष रिजाल, निशा अधिकारी, प्रज्वल अधिकारी, ध्रुब कोइराला आदिको मुख्य भूमिका छ । ‘मेरो देश’को छायाँकन राजधानीका साथै काभ्रे, सिन्धुली, महोत्तरी, रौतहट, बारा आदि जिल्लाहरूमा गरिएको हो ।

‘मेरो देश’का बारेमा के भन्छन् नायक आयूष रिजाल ?

फिल्ममा म एउटा पत्रकारको भूमिकामा छु । भ्रष्टाचार, अनियमितता, अपारदर्शिता आदिका विरुद्ध कलम चलाउने गर्छु । पत्रकार भएपनि सशक्त भूमिकामा छु । मुलुकको वर्तमान अवस्थालाई नै फिल्मको कथावस्तुमा उतार्ने प्रयास भएको छ । मुलुकमा परिवर्तन आवश्यक छ भन्ने सन्देश दिन खोजिएको छ । सामाजिक, राजनीतिक, भौगोलिक, आर्थिक, विखण्डनकारीविरुद्धको अभियान आदि जस्ता विषयलाई कथामा समेटिएको छ । फिल्मको कथावस्तुबाट म प्रभावित छु । समग्रमा भन्ने हो भने ‘मेरो देश’ उत्कृष्ट फिल्म बनेको छ । फिल्मको नाम नै काफी छ । फिल्म राष्ट्रप्रेमबाट ओतप्रोत छ । फिल्मको टिमले आ–आफ्नोतर्फबाट राम्रो गरेको छ ।