१ कार्तिक २०८३, आइतबार

कुख्यात गुन्डा नाइके लामा पक्राउ, छुटाउन दबाब, व्यवसायीमाथि हमला

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । डिस्को क्लबमा झै–झगडा गरी संचालकमाथि कुटपिट गरेको आरोपमा काभ्रेली समूहका कुख्यात गुण्डा नाइके दावा लामा पक्राउ परेका छन् ।

दरवारमार्गमा संचालित क्लब ‘डेजा भीयू’मा आधा दर्जन गुण्डाहरूसहित शुक्रबार राति फिल्मी शैलीमा पुगेका लामाले सो क्लवका सञ्चालक राम गिरीमाथि सांघातिक आक्रमण गरेको स्रोतले जनाएको छ । गुन्डा नाइके लामासहितको समूहको सांघातिक आक्रमणबाट गिरीको टाउकोमा गम्भीर चोट लागेको छ ।

गुन्डागर्दीमा संलग्न हुँदै आएका र प्रहरीको हिट लिष्टमा रहेका कांग्रेस समर्थक दावा लामालाई प्रहरीले काभ्रे र राजधानीका विभिन्न स्थानमा गुन्डागर्दी गरेको अभियोगमा निगरानीमा राख्दै आएको छ । स्रोतका अनुसार लामाले गरेका आपराधिक क्रियाकलापको कांग्रेसी नेताहरूले ढाकछोप गर्ने गरेका कारण उनको दिनप्रति दिन हौसला बढिरहेको प्रहरी स्रोतको भनाइ छ । ‘दावा लामा राम्रो व्यक्ति होइन । प्रहरीको हिट लिष्टमा रहेको व्यक्ति हो’, प्रहरी उच्च स्रोतले भन्यो, ‘अहिले गृहप्रशासन कांग्रेसको नेतृत्वमा छ । दावा लामाले कांग्रेसको आडमा हदैसम्म हैरान बनाएको छ ।’

दावा लामा र उनको समूहको आक्रमणबाट टाउकोमा चोट लागेका गिरीको अस्पतालमा उपचार भैरहेको छ । आक्रमणकारी गुण्डा नाइके लामालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान भैरहेको महानगरीय प्रहरी वृत्त दरवारमार्गका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर पल्लीमगरले जानकारी दिए ।

गुन्डा नाइके लामालाई छुटाउन कांग्रेसका सांसद तीर्थबहादुर लामादेखि नेविसंघका नेताहरूले गृहमन्त्री विमलेन्द्र निधिको नाममा डिएसपी पल्लीमगरलाई दबाब दिन थालेको प्रहरी उच्च स्रोतले जनाएको छ । दावा लामा लामो समयदेखि गुण्डागर्दीमा संलग्न व्यक्ति हुन् । उनी लागूऔषध, ज्यान मार्ने उद्योग र अपहरण मुद्दामा रहस्यमय तरिकाले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएर केही समय भारतमा लुकीछिपी बसेर नेपाल फर्किएका हुन् ।

गुण्डा नाइके कुमार घैंटेको प्रहरी इन्काउन्टरमा ज्यान गएसँगै काठमाडौंमा गुण्डाहरूको भागाभाग भएको थियो । अपराध महाशाखाका तत्कालिन प्रमुख एसएसपी सर्वेन्द्र खनालको कारवाहीमा पर्ने डरले ‘हिट लिस्ट’मा रहेका दावा लामा फरार हुँदै आएका थिए ।

अहिले खनालको सरुवासँगै काठमाडौं उपत्यकामा काभ्रेली गुण्डाहरूको दबदबा बढ्न थालिसकेको छ । गणेश लामा गुपचुप जस्तै बनेपछि उनको ठाउँ लिन दावा लामा लागिपरेको प्रहरी स्रोतको भनाइ छ । दावा लामाले प्रदीप बोगटी नामका व्यापारीलाई पनि कुटपिट गरी उनको साथमा रहेको १९ लाख रुपियाँ लुटेर फरार भएका थिए । लामाको समूहले काभ्रेमा बुद्धचित्त माला लुटपाटसमेत गरेको थियो ।

काजी शेर्पाको समूह हुँदै काभ्रेली समूहमा रहेर गुण्डागर्दी गर्दै आएका लामालाई ठूलो राजनीतिक संरक्षण रहेको छ । दावाले ठेक्का कब्जा गर्न, व्यापारीबाट रकम असुली गर्न र अन्य गुण्डाका समूह तह लगाउन करीब २५ जना युवाको समूहलाई परिचालन गरेको सूचना आएको महानगरीय प्रहरी अपराध महाशाखाका एक प्रहरी अधिकारीले बताए ।

लामाले दार्चुलाका बीरेन्द्रबहादुर कुँवर, प्रवीण नाम गरेका व्यक्ति तथा जेल सजाय काटेर बाहिर निस्केका केही आपराधिक व्यक्तिहरूलाई हातमा लिएर पुनः अपराधको यात्रा शुरु गर्न लागेका छन् ।

हालैमात्र उनले भक्तपुरमा आफ्ना सहयोगीमार्फत टेण्डर हातपारी बाटो निर्माणको काम शुरु गरेका छन् । जुन पूर्व उद्योगमन्त्री महेश बस्नेतको क्षेत्र हो । लामा काभ्रेबाट निर्वाचित कांग्रेसका सांसद तीर्थबहादुर लामाको व्यापारिक कारोबारमा समेत संलग्न रहेको बताइएको छ ।

लामाको समूहले ललितपुरको सुनाकोठी–८ निवासी ३४ वर्षीय राजन श्रेष्ठलाई दुई वर्षअघि खुकुरी प्रहार गरेको थियो ।

महाराजगञ्जबाट बूढानीलकण्ठ गइरहेको अवस्थामा व्यापारी सुनील अग्रवालबाट पनि लामाको समूहलले ११ लाख ५० हजार रुपैयाँ लुटेको थियो । लामाको समूहले ग्रवालबाट पटक–पटक गरेर करिब ४१ लाख रुपैयाँ असुलेको प्रहरी अनुसन्धानले देखाइसकेको छ ।