१ कार्तिक २०८३, आइतबार

प्रधान सेनापति खुल्ला म्याराथन प्रतियोगिता सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २९ माघ । महाशिवरात्री तथा सेना दिवसको अवसरमा आयोजित ‘प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता’ सम्पन्न भएको छ । प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको प्रतियोगितामा विजेता खेलाडीहरुलाई पुरस्कार वितरण तथा सम्मान गरिएको छ ।

प्रतियोगिताको छात्र तर्फको ५ कि.मि.दौडमा सैनिक आवासीय महाविद्यालय सल्लाघारीका सुरेश थापा मगर प्रथम, सोही महाविद्यालयका सागर श्रेष्ठ द्वितीय र सम्झना एकेडेमीका कृष्ण आले मगर तृतीय भएका छन् ।

त्यसैगरी, छात्रा तर्फ विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका संगीता खड्का प्रथम, सैनिक आवासीय महाविद्यालय सल्लाघारीका काजल विष्ट द्वितीय र विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका सुजाता दर्लामीले तृतिय स्थान हासिल गरेका छन् ।

पुरुष तर्फको १० किलोमिटरको दौडमा नेपाली सेनाका उप–सेनानी रोहण श्रेष्ठ प्रथम, सह–सेनानी सुवास लामा द्वितीय र उप–सेनानी सुमन पाण्डे तृतीय भएका छन् । त्यसैगरी, महिला तर्फ उप–सेनानी श्रुती कुँवर प्रथम, उप–सेनानी रेखा अधिकारी द्वितीय र उप–सेनानी लक्ष्मी लामा तृतीय भएका छन् ।

सोही विधाको पुरुष तर्फ १० किलोमिटर विदेशी सैनिक सहचारी एवं कूटनीतिज्ञसहितको दौडमा मित्रराष्ट्र अमेरिकाका जस्टिन गिसिङ्ग प्रथम, मिक रिड द्वितीय र कोल ग्रेगोरी डि पिपस तृतीय भएका छन् । महिला तर्फ मित्रराष्ट्र अमेरिकाका लिन्डसी पिपसले प्रथम स्थान हासिल गरेकी छन् ।

पुरुष तर्फको २१ किमि दौडमा नेपाली सेनाका अमल्दार कल्याण बाँनिया प्रथम, सिपाही रामजी बस्नेत द्वितीय र गुल्म कार्य हुद्धा राजकुमार बिष्टले तृतीय स्थान हासिल गरेका छन् । त्यसैगरी, सोही विधाको महिला तर्फ नेपाली सेनाका प्यूठ विश्वरुपा बुढा प्रथम, सिपाही सानुमाया कार्की द्वितीय र सशस्त्र प्रहरी बलका पुष्पा भण्डारीले तृतीय स्थान हासिल गरेका छन् । यस विधामा प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने धावकहरुले क्रमशः रु.२५ हजार, रु.१५ हजार र रु.१० हजार नगद पुरस्कार तथा मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

यसैगरी, म्याराथन प्रतियोगितामा नेपाल प्रहरीका भूमिराज राईले २ घण्टा २४ मिनेट १३ सेकेण्डमा दौड पूरा गरेर प्रथम स्थान हासिल गरेका छन् भने नेपाली सेनाका अमल्दार कृष्ण बस्नेतले २ घण्टा २४ मिनेट १५ सेकेण्डमा दौड पूरा गरेर दोस्रा स्थान हाँसिल गरेका छन् ।
त्यस्तै, २ घण्टा २५ मिनेट ५० सेकेण्डमा दौड पूरा गरी राजन खत्री तृतीय भएका छन् ।

यसमा प्रथम राईलाई रु.एक लाखको चेकबोर्ड, मेडल, प्रमाण पत्र र ट्रफी प्रदान गरिएको छ । त्यस्तै, द्वितीय, तृतिय, चौथो, पाँचौ र छैठौ स्थान हासिल गर्न सफल हुनु भएका धावकहरुलाई समेत प्रधान सेनापति क्षत्रीले क्रमशः रु.५० हजार, रु.२५ हजार, रु.१५ हजार, रु.७ हजार, रु.५ हजार तथा मेडल र प्रमाण पत्रसमेत प्रदान गरेका थिए ।