काठमाडौं, २९ माघ । ‘गीतसंगीतमा पनि सिण्डिकेट छ’ भन्ने सुन्दा तपाईहामीलाई अचम्म लाग्न सक्छ । यातायात, व्यवसायी आदिमा भएका सिण्डिकेटले उपभोक्तालाई हैरान बनाएको त थियो नै । तर, गीतसंगीतको सिण्डिकेटले तपाईहामीलाई नछोए पनि स्रष्टालाई भने हदैसम्म दुःख दिएको रहेछ ।
शुक्रबार काठमाडौंको पुतलीसडकमा आयोजित विशेष कार्यक्रममा गीतसंगीतको क्षेत्रमा चर्चित व्यक्तिहरूले गीतसंगीतमा रहेको सिण्डिकेटले कालान्तरमा नेपाली मौलिकता र संकृतिलाई नै धरापमा पार्ने हो कि भनेर चिन्ता जनाए । उनीहरूले भने, ‘गीतसंगीतमा रहेको सिण्डिकेटले एकदिन नेपाली गीतसंगीत र संकृतिलाई नै ठूलो धक्का पुग्नेछ । यसलाई जोगाउने दायित्व तपाईहाम्रो हो ।’
कार्यक्रम रोयल्टी संकलन समाजका अध्यक्ष एवम् संगीतकार सुरेश अधिकारले गीतसंगीतमा केही व्यक्तिले दादागिरी देखाउने गरेको गुनासो गरे । उनले यस्ता खालका दादागिरी र सिण्डिकेटले स्रष्टाका साथै नेपाली गीतसंगीतमा ठूलो असर पर्दै गएको बताए । ‘नेपाली समाजमा एउटा समूहले गीतसंगीतमा सिण्डिकेट गरेर दादागिरी चलाइरहेको छ’, उनले भने, ‘यो दादागिरीलाई अन्त्य नगर्दासम्म स्रष्टा र नेपाली संगीतको संरक्षणमा समस्या रहिरहनेछ ।’
रोयल्टी संकलनका लागि आफूहरूले अभियान थाल्ने क्रममा धेरै धम्की र चुनौती आएको स्मरण गरेका संगीतकार अधिकारीले भने, ‘यातायातका साधनबाट रोयल्टी संकलन गर्ने भनेर अभियान थालेका थियौँ । तर, हामी आफै फस्यौँ । यातायात व्यवसायीहरूले तिमीहरूको गीतसंगीत बजाउँदैनौ । विदेशी बजाउँछौँ भने पछि ब्याक भयो ।’
अधिकारीले भने, ‘राज्यले उचित नियम बनाइदिएको छैन । त्यसमा पनि गीतसंगीतमा देखिएका सिण्डिकेट र दादागिरीले हामी स्रष्टाहरू ठूलो मारमा परेका छौँ ।’ रोयल्टी संकलनका लागि अभियान चलाउँदा राजधानीभित्र रहेका एफएम रेडियो र अन्य सञ्चारमाध्यमहरूले उपत्यका सञ्चार संगठन नै खोलेर विरोधमा उत्रिएको तितो अनुभव पनि रोयल्टी संकलनका अध्यक्ष अधिकारीले सुनाए । उनले भने, ‘हामीले पनि सिण्डिकेट गर्ने हो भने नेपाली गीतसंगीत धरासायी बन्छ । नेपाली संस्कृति लोप हुन सक्छ । तर, हामी गैरजिम्मेवार बन्न सक्दैनौँ ।’
संगीत संघ नेपालका अध्यक्ष एवम् संगीतकार लक्ष्मण शेषले पनि राज्यले स्रष्टाहरूका लागि उचित कमद चाल्न नसक्दा हरेक दिन समस्या आइरहेको बताए । ‘राज्यले कला र संस्कृतिको संरक्षणका लागि काम नगरेको पनि होइन’, उनले भने, ‘तर, यहाँ राज्यले दिएका कुरालाई पनि संरक्षण गर्ने विषयमा ठूलो असहयोग भइरहेको छ ।’
संघका अध्यक्ष शेषले भने, ‘कलाकार बिरामी पर्दा वा समस्यामा हुँदा सहयोग गर्ने भरपर्दो कुनै आधार छैन । राज्यले पनि त्यसमा खासै ध्यान दिएको पाइँदैन ।’ उनले संगीतकार संघ नेपालले आफ्नै बलबुतामा संगीतकर्मी कल्याणकारी कोष स्थापना गरेको बताए । कोषमा अहिलेसम्म झण्डै साढे चार लाखा संकलन भएको बताउँदै अध्यक्ष शेषाले भने, ‘हामीलाई कोषका लागि सहयोग रकम दिने धेरै ठाउँबाट आश्वासन आइरहेको छ । स्रष्टाहरू उत्साहित भइरहेका छन् ।’
संगीतकार संघ नेपालका महासचिव एवम् संगीतकार महेश खड्काले कलाकारको मृत्यु हुँदा पनि उसलाई घाटसम्म लैजान पनि समस्या पर्ने गरेको तितो स्मरण सुनाउँदै भने, ‘कल्याणकारी कोषमा जम्मा भएको रकमले दुःख पाएका स्रष्टालाई सानो सहयोग दिने उदेश्य लिएका छौँ ।’ उनले रोयल्टीबाट संकलनबाट जम्मा भएको केही निश्चित रकमलाई पनि स्रष्टाको सेवामा लगाउनु पर्ने बताए ।
‘०७३/७४ सालभित्र सबै सञ्चारमाध्यमहरू रोयल्टीको दायरामा आउनै पर्छ’, संगीतकार खड्काले भने, ‘एउटा मापदण्ड बनाएर राज्यले दबाबसहित रोयल्टी संकलनमा सहयोग गर्नुपर्छ ।’ उनले सामुदायिक रेडियोहरू संस्था एकोर्याबबाट पनि रोयल्टी संकलनमा सहयोग हुने अपेक्षा राखे ।
सामुदायिक रेडियोहरूको संस्था एकोर्याबका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले आफूले स्रष्टाहरूको माग र आवाजलाई आफ्नो संस्थासम्म पुर्याइदिने आश्वासन दिए । ‘मैले मात्रै रोयल्टीका विषयमा बोलेर हुँदैन’, उनले भने, ‘स्रष्टाको मागलाई मेरो संस्थासम्म पुर्याउन सक्छु । संस्थाभित्र छलफल गराउन पहल गर्नेछु ।’
वरिष्ठ उपाध्यक्ष गिरीले बरु आफ्नो रेडियोबाट प्रत्येक वर्ष रोयल्टीबाफत केही निश्चित रकम रोयल्टी संकलन समाजलाई उपलब्ध गराउन सक्ने प्रतिवद्धता भने जनाए । ‘मेरो रेडियोमा वर्षभरि नेपाली गीतसंगीत बज्छ । त्यस वापत केही निश्चित रकम वार्षिक उत्सवका बेला रोयल्टी संकलन समाजलाई उपलब्ध गराउनेछु’, उनले भने ।
कार्यक्रममा एकोर्याबका वरिष्ठ उपाध्यक्ष गिरीले संगीतकर्मी कल्याणकारी कोषलाई १५ हजार ६ सय र मोडल दीपशीखा खड्काले १० हजार उपलब्ध गराएकी थिइन् । गिरी र खड्काले संगीतकार संघका कोषाध्यक्ष हरि लम्साललाई नगद उपलब्ध गराएको रोयल्टी संकलन समाजका कोषाध्यक्ष लोकराज अधिकारीले जानकारी दिए ।
















प्रतिक्रिया