
काठमाडौँ, २७ माघ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिलाई लिएर यतिबेला चरम विवाद उत्पन्न भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा गृहमन्त्री विमलेन्द्र निधि समेत तेस्रो वरियताका जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउन राजी भएका छन् ।
उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री विमलेन्द्र निधि समेत वरियताक्रम मिचेर चन्दलाई महानिरीक्षक बनाउन राजी भएपछि प्रधानमन्त्री प्रचण्डलाई झट्का लागेको छ । बिहीबारको बैठकमा नै महानिरीक्षकको नियुक्तिका लागि सिफारिस लैजाने गरी तयारी गरे पनि समय अभावका कारण सम्भव नभएको गृह मन्त्रालय स्रोतले बतायो ।
गृहमन्त्री निधिले आइतबारको बैठकमा पेश गर्ने गरी महानिरीक्षक नियुक्तिको प्रस्ताव गर्न गृह सचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका छन् । चन्द प्रहरी महानिरीक्षकका दाबेदारहरुमध्ये तेस्रो बरियतामा छन् ।
पहिलो बरियतामा डीआइजी नवराज सिलवाल, दोस्रो बरियतामा डीआइजी प्रकाश अर्याल र चौंथोमा बमबहादुर भण्डारी छन् । तर, देउवाको दबाबमा निधिले रोलक्रम मिल्न लागेका हुन् ।
देउवा र निधि मिलेपछि प्रधानमन्त्री प्रचण्डलाई झट्का लागेको छ । देउवासँग विवाद बढेपनि प्रचण्ड भने कुनै पनि हालतमा प्रहरीको चेन अफ कमाण्ड बिगार्न नहुने अडानमा छन् । पहिलो रोलक्रममै रहेका नवराज सिलवाललाई प्रहरीको प्रमुख बनाउनुपर्ने प्रधानमन्त्री प्रचण्डको अडान छ । तर, यही अडानलाई लिएर सरकार नै धर्मराउने खतरा बढेको छ ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आगामी सोमबार (फागुन २ गते)बाट अनिवार्य अवकाश पाउँदैछन् । आगाामी आइतबार नै प्रहरीको नयाँ प्रमुख नियुक्त गुर्नपर्ने सरकारलाई बाध्यता छ ।















प्रतिक्रिया