काठमाडौं, २७ माघ । नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारी भएको लामो समय वितिसकेको छ । कांग्रेसका नेताहरु संविधानको संरक्षणभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा लागेको आरोप लाग्दै आएको छ । शेरबहादुर देउवा समूहको पेलानमा रहेको कोइराला परिवारमा गुटको नेतृत्व गर्ने दमदार नेताको कमीका कारण पनि संविधान कार्यान्वयनमा समस्या आएको बताइन्छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
कोइराला समूहले कांग्रेस नेतृत्वमा बनेको संविधान संरक्षणमा सभापति देउवाले नै चासो नदेखाएको आरोप लगाउन थालेको छ । संविधान कार्यान्वयनअन्तर्गत कांग्रेसले तीन वटै निर्वाचन गर्नुपर्ने अडान राख्दै आएको छ । तर, यो अडानलाई कांग्रेसका शीर्ष नेताहरुले जोडदार रुपमा अगाडि बढाउन नसकेको बताइन्छ । देउवा गुटका सशक्त नेता तथा गृहमन्त्री विमलेन्द्र निधिले वामपन्थीहरुको जालो तोड्न नसक्नुले पनि संविधान कार्यान्वयनमा समस्या आएको बताइएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेललाई कोइराला समूहले नेता माने पनि पौडेल भने झिनामसिना कार्यक्रममा जाने गरेकाले समस्या आएको हो । कोइराला परिवारभित्र पौडेललाई अडान नभएका नेताको रुपमा हेरिन्छ । यतिसम्मकी सभापति देउवाले आजकाल हुने दलीय बैठक र गोप्य मिटिङहरुमा पौडेललाई बोलाउने गरेका छैनन् । ती बैठकहरुमा नबोलाउँदा पनि वरिष्ठ नेता पौडेलले कुनै प्रकारको आपत्ति नजनाउने गरेको स्रोतको भनाई छ । देउवाले आफ्नो निवासमा मधेसी मोर्चासँगको गोप्य वार्तामा पौडेललाई बोलाएनन् ।
आफूलाई नबोलाएको भन्दै पौडेल आक्रोशित बनेका छन् । पौडेलले यो विषय आफूले केन्द्रीय कार्यसमितिमा उठाउने बताउने गरेका छन् । स्थानीय तहको निर्वाचन गर्ने तयारी सरकारले गरेको छ । तर, कांग्रेसले चुनावमा कसरी जाने र रणनीति कस्तो बनाउने भन्ने विषयमा अहिलेसम्म छलफल गरेको छैन । स्ववियु निर्वाचनमा कसरी जाने भन्ने रणनीति कांग्रेसले सार्वजनिक गरेको पनि छैन । यदि सरकारले चुनावको मिति घोषणा गरिहाल्यो भने कांग्रेस आफै अलमलमा पर्ने एक नेताले बताए ।
हुन त पछिल्लो समय कृष्णप्रसाद सिटौलालाई काखी च्याप्दै आएका देउवाले कोइराला समूहलाई बाहिर राख्दा पनि असर नपर्ने भनेर आफू निकटकालाई बताउने गरेका छन् । सिटौला समूहको आजकाल बुढानिलकण्ठतिर अलिक बाक्लै आउजाउ पनि छ । व्यक्तिगत स्वार्थमा रहेका कांग्रेस नेतृत्वले समयमा आफ्नो रणनीति बनाएर वामपन्थीहरुको जालो नरोक्ने हो भने आगामी चुनावहरुमा दलको उपस्थिति कमजोर हुने स्थानीय नेताहरु बताउने गर्छन् । कांग्रेसका केही नेताहरु विशेष गरेर देउवा समूहका नेता सत्ताको स्वार्थमा लागेकाले पनि समस्यामा आएको कोइराला परिवारको भनाई छ ।
खुमबहादुर खड्का बिरामी
यसैबीच, अस्वस्थ्य रहेका कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का बिहीबार सिङ्गापुर उपचारका लागि जाँदैछन् । उनले सिङ्गापुरमा आफ्नो मिर्गौलाको उपचार गर्ने स्रोतको भनाइ छ । हुन त आजकाल सिङ्गापुरमै रहेका पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट्न नेता खड्का त्यता जान लागेको आरोप लागे पनि खड्का निकट एक नेताले ज्ञानेन्द्रसँगको भेटवार्ता अस्वीकार गरे ।
दुबै मिर्गौला फेरेर उपचार गराउँदै आएका खड्काको स्वास्थ्यमा अलिक धेरै समस्या देखिएपछि कार्यकर्ता र नेताहरुसँगको भेट रोकेका छन् । उनले दुईसाता यता केही नेताहरु बाहेक कार्यकर्ताहरुसँग नभेटेको स्रोतले बतायो ।












प्रतिक्रिया