काठमाडौं, २७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको ७५ मध्ये ५८ जिल्ला अध्यक्ष चुनिएका छन् । मंगलबार बेलुकासम्म ३१ जिल्ला अध्यक्ष चुनिएकोमा बुधबार बेलुकासम्म थप २७ जिल्ला अध्यक्षको टुंगो लागेको हो ।
बुधबार घोषणा भएका अधिकांश जिल्लामा निर्वाचनबाटै नेतृत्व चयन भएको र केही जिल्लामा मात्र सहमति भएको राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
जिल्ला अधिवेशनपछि अब ६ देखि ९ फागुनसम्म राप्रपाको महाधिवेशन काठमाडौंमा हुँदै छ । त्यसअघि २ फागुनभित्र फोटोसहितको मतदाता नामावली सबै जिल्लाले केन्द्रमा पठाइसक्नुपर्नेछ । बुधबार आएका नतिजामा पनि कमल थापा अगाडि रहेको बुझिएको छ ।
राप्रपामा गाउँ, नगर, उपमहानगर, महानगर, २४० निर्वाचन क्षेत्र, ७५ जिल्ला, भ्रातृसंस्था, प्रवास र मनोनीत गरी तीन हजार तीन सय २० जना महाधिवेशन प्रतिनिधि हुनेछन् । उनीहरूले महाधिवेशनमा केन्द्रीय अध्यक्ष र केही केन्द्रीय सदस्यका लागि भोट हाल्नेछन् ।
बाँकी पदाधिकारी अध्यक्षले नै मनोनीत गर्नेछन् । गत ६ मंसिरमा राप्रपा नेपाल र राप्रपाबीच एकता भएपछि राप्रपा बनेको थियो । अध्यक्षका लागि अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र पूर्वराष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले दाबेदारी पेस गर्ने तयारी गरेका छन् ।
राप्रपाका निर्वाचित थप जिल्ला अध्यक्ष
प्रेमराज थामसुहाङ (पाँचथर), हरि श्रेष्ठ (इलाम), ललितबहादुर लिम्बू (तेह्रथुम), सुन्दरप्रकाश खड्का (दोलखा), भीष्मराज श्रेष्ठ (सिन्धुली), रामहरि न्यौपाने (मकवानपुर), सत्येन्द्रकुमार सिंह (रौतहट), ठिले लामा (रसुवा), गोपाल श्रेष्ठ (सिन्धुपाल्चोक), धनक प्याकुरेल (नुवाकोट), रामहरि थापा (ललितपुर), इन्द्रबहादुर मल्ल (लमजुङ), रुद्रराज पाण्डे (गोरखा), भूपेन्द्र हिराचन (मुस्ताङ), वीरबहादुर थापा (म्याग्दी), झिन्तनप्रसाद कुर्मी (कपिलवस्तु), मनोजकुमार सिंह (सल्यान), खुमानसिंह बस्नेत (प्युठान), भक्तबहादुर शाही (दैलेख), मानबहादुर खड्का (सुर्खेत), कृष्णविक्रम शाह (जाजरकोट), नरेन्द्रकुमार पौडेल (बाँके), भीमबहादुर बोहरा (बर्दिया), गजेन्द्र सिंह (कैलाली), धीरजविक्रम सिंह (बझाङ), वीरसिंह बडाल (दार्चुला) र प्रेम चन्द (बैतडी)












प्रतिक्रिया