१४ कार्तिक २०८३, शनिबार

स्थानीय निकायकै चुनाव गरौँ : कांग्रेस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । कांग्रेस सभापति शेरबहादुर देउवाले पुनः पुरानै संरचनामा स्थानीय निकायको चुनाव गर्नुपर्ने बताएका छन् । संविधान कार्यान्वयनका लागि नयाँ संरचनाको चुनाव गर्नुपर्ने विषय उठिरहेका वेला संसद्को सबैभन्दा ठूलो दलका सभापतिले स्थानीय निकाय निर्वाचनमा जोड दिएका छन् ।

कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ‘प्रथम पुण्य स्मृति दिवस’का अवसरमा बुधबार आयोजित कार्यक्रममा सभापति देउवासहित अन्य नेताहरू पनि स्थानीय तहमा समय लाग्ने भन्दै स्थानीय निकायको चुनाव गर्नुपर्ने पक्षमा देखिएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सभापति देउवाले पुरानै स्थानीय निकायको निर्वाचन गर्न अन्य दलको पनि सहमति आवश्यक पर्ने भन्दै त्यसमा सहमति नभए इलाकालाई आधार मानेर निर्वाचन गर्नुपर्ने विकल्प सुझाए ।

नेता रामचन्द्र पौडेलले संविधानको संक्रमणकालीन व्यवस्थाअनुसार राष्ट्रपति, उपराष्ट्रपति र सरकारको निर्वाचन भएको उल्लेख गर्दै सोही व्यवस्थाअनुसार स्थानीय निकायको निर्वाचन गर्न सकिने प्रस्ट्याए । ‘स्थानीय निकायको पुनर्संरचनासम्बन्धी आयोगको प्रतिवेदनमा समस्या देखिएकाले परिमार्जन गर्नु आवश्यक छ,’ उनले भने । स्थानीय तहसम्बन्धी ऐन बनाउन र गठन गर्न समय लाग्नेतर्फ इंगित गर्दै पौडेलले संक्रमणकालीन धाराको प्रयोग गरेर पुरानै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताए ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले संविधान संशोधनको नाममा निर्वाचन नहुने अवस्था आयो भने संविधान नै ‘कोल्याप्स’ हुने खतरा रहेको बताए । उनले पनि स्थानीय तहको निर्वाचन गर्न समय लाग्ने भए पुरानै निकायको निर्वाचनमा जान सुझाए । अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानको कार्यान्वयनका लागि तत्काल पुरानै निकायको भए पनि निर्वाचन गर्नुपर्ने प्रस्ट्याए । त्यसपछि मात्र प्रदेश र संसद्को निर्वाचनमा जान सकिने उनको भनाइ थियो ।

संविधान कार्यान्वयन गर्न सके कोइरालाप्रति सम्मान

कांग्रेस पदाधिकारीसहितका शीर्ष नेताले सुशील कोइरालाको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गर्न सके मात्र उनीप्रति सम्मान हुने बताएका छन् । बुधबार केन्द्रीय कार्यालय सानेपामा आयोजित कोइरालाको पहिलो स्मृति दिवसमा कांग्रेस शीर्ष नेताहरूले संविधान कार्यान्वयन नै अहिलेको चुनौती भएको बताए । समयभित्रै तीन तहको निर्वाचन गर्न सके प्रजातन्त्रलाई संस्थागत गर्नुपर्छ भन्ने नेताहरूप्रति वास्तविक सम्मान हुने देउवाले बताए । कुनै पनि पक्षले अब निर्वाचन रोक्न नसक्ने उनको भनाइ थियो ।

अर्का नेता पौडेलले सिद्धान्तप्रतिको निष्ठा, असल, स्वभाव र आचरणको पर्याय कोइरालाबाट नेता कार्यकर्ताले सिक्नुपर्ने बताए । कोइरालाले देखेको संविधान कार्यान्वयनलाई अब दलहरूले पूरा गर्नुपर्ने उनको भनाइ थियो ।

महामन्त्री डा.शशांक कोइरालाले प्रजातन्त्र स्थापनादेखि संविधान जारी गर्दासम्म स्व.कोइरालाको अतुलनीय योगदान रहेको बताए । कोषाध्यक्ष सीतादेवी यादवले संविधान संसोधन नभई संविधान कार्यान्वयन नै हुन नसक्ने बताइन् । पूर्वसभापति कोइरालाको गत वर्षको २५ माघ राति महाराजगन्जस्थित निवासमा निधन भएको थियो ।