काठमाडौं, २७ माघ । युवा संघ नेपालको नवौँ महाधिवेशन आगामी वैशाखमा हुने भएको छ । बुधबार सम्पन्न संघको केन्द्रीय कमिटी बैठकले आगामी ९ वैशाखसम्म मकवानपुरको हेटौँडामा नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो । संघको आठौँ महाधिवेशन २०६९ फागुनमा बुटवलमा सम्पन्न भएको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
संघका प्रवक्ता प्रभातविक्रम कटुवालले संविधान कार्यान्वयनका लागि दबाब अभियानकै रूपमा नवौँ महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको जानकारी दिए । ‘अबको मुख्य कार्यभारका रूपमा संविधान कार्यान्वयनका लागि व्यापक दबाब सिर्जना गर्दै महाधिवेशन गर्ने निर्णय भएको छ,’ कटुवालले भने । बैठकले अध्यक्ष राजीव पहारी संयोजक रहेको महाधिवेशन तयारी मूल व्यवस्थापन समिति गठन गरेको छ ।
तीन केन्द्रीय सदस्यमाथि कारबाही
बैठकले संगठनको हितविरुद्ध काम गर्ने तीन केन्द्रीय सदस्यलाई अनुशासनको कारबाही गरेको छ । पार्टी नेताको चरित्रहत्यामा संलग्न भएको भन्दै केन्द्रीय सदस्य बालिका खड्का, नयाँ शक्तिमा प्रवेश गरेका अञ्जन भट्ट र नेकपा मालेमा प्रवेश गरेका माधव विष्टलाई संघको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको हो ।
संघको बैठकले जिम्मेवारी हेरफेरसमेत गरेको छ । बैठकले काठमाडौं अध्यक्ष नितेश पौडेललाई केन्द्रीय सदस्यमा मनोनीत गरी इन्चार्ज बनाएको छ । त्यस्तै, संगठन विभाग प्रमुखको जिम्मेवारी सचिव माधव बास्तोला, प्रचार विभाग प्रमुखमा हस्तबहादुर शाही, युवा परिचालन विभाग प्रमुखमा दर्शन लामा र राजधानी संयोजकमा वचनबहादुर सिंहलाई जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्य रामजी सापकोटा सचिवालयमा मनोनीत भएका छन् ।
विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव
संघको बैठकले उपाध्यक्ष दिलु पन्तसहितको असन्तुष्ट समूहले अन्तर जिल्ला समन्वय कमिटी विभाग खारेजका लागि अघि सारेको माग समाधान गर्न मध्यमार्गी प्रस्ताव पारित गरेको छ । संघका प्रवक्ता कटुवालले विभागका सन्दर्भमा पार्टीबाट नयाँ निर्देशन आए सोहीअनुसार निर्णय गर्ने जिम्मेवारी बैठकले स्थायी समितिलाई दिएको बताए ।












प्रतिक्रिया