१४ कार्तिक २०८३, शनिबार

अब वीस वर्ष उमेर नपुग्दासम्म बिहे गर्न नपाइने, सम्बन्ध बिच्छेद खुकुलो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । संसद्को विधायन समितिले मुलुकी ऐन प्रतिस्थापन विधेयकमध्ये देवानीसंहिता पारित गरेको छ । ‘मुलुकी देवानी संहिता २०७३’ नाम रहने गरी समितिले विधेयक पारित गरेको हो ।

समितिबाट पारित विधेयक अब संसद्मा प्रतिवेदनसहित पेस हुनेछ । संसद्मा पेस भएको विधेयक छलफलपछि पारित हुनेछ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

सरकारले पेस गरेको विधेयकमा सरोकारवाला पक्ष र अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर परिमार्जन गरिएको छ । झण्डै एक वर्ष विधेयकमाथि सर्वपक्षीय दफावार छलफलपछि समितिले विधेयक पारित गरेको हो ।

समिति सचिव ध्रुवप्रसाद घिमिरेले देवानी संहिता समितिले पारित गरेको बताउनुभयो । अन्य चारवटा विधेयक पनि पारित भएपछि समितिको प्रतिवेदनसहित एकैसाथ संसद्मा पेस हुने घिमिरेले बताउनुभयो ।

संहिताले पारिवारिक कानुनमा सम्पत्ति, विवाह, सम्बन्धविच्छेदलगायत विषयका कानुन समेटेको छ । यस्तै सम्पत्तिमा इच्छापत्रसम्बन्धी नयाँ व्यवस्था कानुन प्रणालीमा थपिएको छ ।

समितिबाट पारित विधेयकमा मौजुदा पारिवारिक कानुनमा रहेको विवाहका लागि न्यूनतम उमेरको हद बढाइएको छ । विवाहको उमेरलाई २० वर्ष पुगाइएको छ ।

संहिताको व्यवस्था पारित भएमा विधेयक प्रमाणीकरणको १८ वर्षपछि पैत्रिक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक कायम रहनेछैन । सम्पत्तिको मालिकले आफ्नो सम्पत्ति इच्छा गरेको व्यक्तिलाई दिन सक्नेछ । सम्पत्तिमा इच्छापत्र नेपालको कानुन प्रणालीमा नयाँ व्यवस्था हो ।

समितिबाट पारित संहिताले सम्बन्धविच्छेदमा महिला र पुरुष दुवैका लागि समान व्यवस्थाका लागि पुरुषले पनि जिल्ला अदालतबाट सम्बन्धविच्छेद प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ । धर्मपुत्र सम्बन्धमा संहिताले विस्तृत व्यवस्था गरेको छ ।

विवाह भएको १० वर्षसम्म पनि छोरा वा छोरी नहुने दम्पती, पैँतालीस वर्ष उमेर पूरा भएकी अविवाहिता, विधवा, सम्बन्धविच्छेद गरी बसेका छोरा वा छोरी नहुने महिलाले धर्मपुत्र राख्न पाउने व्यवस्था संहिताले गरेको छ ।

४५ वर्ष उमेर पूरा भएको अविवाहित, विदुर वा सम्बन्धविच्छेद गरी बसेको आफ्ना सन्तान नभएको पुरुषले पनि धर्मपुत्र÷धर्मपुत्री राख्न पाउनेछन् ।