१ कार्तिक २०८३, आइतबार

टोपबहादुरले अध्यक्ष प्रचण्डलाई देखाए डर !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ माघ । नेकपा (माओवादी केन्द्र) का नेता टोपबहादुर रायमाझीले मुलुकमा संविधान कार्यान्वयन हुन नसक्ने खतरा बढेकाले सरकारले अविलम्ब निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उहाँले देशमा स्थायित्व कायम गर्न संविधानमा निर्दिष्ट गरिएको निर्वाचन निर्धारित समयसीमाभित्र सम्पन्न गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

उहाँले भन्नुभयो– “विवाद भएका विषयमा मात्र संविधान संशोधन गर्नुपर्छ, विवादै नभएका विषयमा संशोधनका नाममा राजनीति गर्नु हुँदैन, यदि संशोधन हुन नसकेमा संविधान कार्यान्वयनका लागि सरकारले निर्वाचनको मिति घोषणा गरेर अगाडि बढ्नुपर्छ ।”

नेता रायमाझीले अहिले संविधान संशोधन र कार्यान्वयन दुवै विषय गौण बनेकाले देशको राजनीति जटिल अवस्थामा पुगेको बताउँदै देशमा स्थायित्व कायम गर्न दलहरुको सहमति र सहकार्यमा मात्र संविधान संशोधन गर्नुपर्ने सुझाव दिनुभयो ।

महिला बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खडकाले सरकारले आगामी जेठको पहिलो हप्ताभित्रै स्थानीय चुनाव गर्नका लागि तयारी गरिरहेको बताउँदै चाँडो निर्वाचनका लागि मिति घोषणा गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले मधेसी मोर्चालगायत असन्तुष्ट पक्षको मागलाई सम्बोधन गरेर चुनावको मिति घोषणा हुने विश्वास व्यक्त गर्दै सरकार मुलुकमा विद्यमान समस्या समाधानका लागि संवेदनशील रहेको छ भन्नुभयो ।

सोही कार्यक्रममा ४२ वर्षदेखि शिक्षाको विकासमा योगदान गरेका अपाङ्ग शिक्षक कृष्णप्रसाद पौडेललाई अभिनन्दन गरिएको थियो । रासस