१ कार्तिक २०८३, आइतबार

शंकर पोखरेलको नजरमा प्रचण्ड सरकारको ६ महिने ‘उपलब्धी’

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शंकर पोखरेल नेकपा एमालेका स्थायी कमिटी सदस्य हुन् । राष्ट्रियता बचाउने पार्टीको अभियानमा दृढताका साथ लागिरहेका पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको खरो आलोचना गरेका छन् । सरकारले ‘लम्पसार नीति’ अपनाएको बताउने नेता पोखरेलका नजरमा यस्तो छ सरकारको ६ महिने ‘उपलब्धी’ :

– चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोक्न सफल हुनु । सोही अवधिमा बंगलादेशले चिनियाँ राष्ट्रपतिको भ्रमण आयोजना गरेर निकै ठूलो उपलब्धी हासिल गर्न सफल भएको छ ।

– केपी ओली नेतृत्वको सरकारले चीनसंग गरेको नेपालको हितका ऐतिहासिक सहमति र संझौताको कार्यान्वयनलाई अनिश्चित बनाउनु ।

– नेपालको परराष्ट्रनीतिलाई भारतको पोल्टामा हाल्नु । अन्तर्राष्ट्रिय मामिलामा समान धारणा बनाउने भनेर भारत निर्भरता बढाउन खोज्नु ।

– नेपालमा भारतीय लगानीका आयोजना अनुगमनका नाममा नेपाल सरकारको हैसियत भारतको दूतावास सरह बनाउन खोज्नु ।

– नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय एयरमार्सल राख्ने बाटो खोलिदिनु ।

– आफैले राष्ट्रघाति भनेर प्रचार गरेको अपर कर्णालीमा वित्तीय प्रबन्ध गर्न असफल भएको कम्पनीको विना कुनै आधार म्याद थप गर्नु ।

– ओली नेतृत्वको सरकारले ल्याएको लोकप्रिय बजेटको कार्यान्वयनमा समस्या खडा गर्नु ।

– ओली नेतृत्वको सरकारले अघि सारेको तराई केन्द्रीत विकासका कार्यक्रमहरुको रकम कटौती गर्नु ।

– सिथिल बनेको मधेसी मोर्चाको आन्दोलनलाई संजिवनी प्रदान गर्नु । नेपाललाई टुक्राउन चाहनेहरुका गतिविधिहरुलाई प्रोत्साहित गर्नु ।

– स्थानीय तह निर्धारण आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा जानबाट रोक्नु र संविधान कार्यान्वयनमा बाधा पुर्याउनु ।

– निर्वाचन कानुन निर्माणको प्रक्रियालाई पछि धकेल्नु र स्थानिय तहको निर्वाचन गर्नबाट पन्छनु ।

– ओली नेतृत्वको सरकारले अघि बढाएका विकास र समृद्धिका सपनाहरुलाई आफ्नो बनाउने कोशिस गर्नु ।

– राष्ट्रिय गौरवका आयोजनाहरुको बजेट कटौती गरेर आफ्ना कार्यकर्ताहरु पोस्ने गरी बजेट रकमान्तर गर्नु ।

– परराष्ट्रमन्त्रीलाई ६ महिनामा ६ पटक भारत पठाएर जनताले भनेझै ‘लम्पसार नीति’लाई सफल पार्नु ।

– संविधान र राष्ट्रिय हितविरुद्धमा रहेको संशोधन प्रस्ताव पास गराई छोड्ने हुंकारका साथ जवरजस्ती रुपमा टेवल गर्नु र टेवल गरेपछि त्यसवारे पूर्णतः मौनता साध्न सफल हुनु ।

– नेपालले आफै फास्टट्रयाक निर्माण गर्ने योजनालाई अनिश्चित बनाउनु ।

– लोडसेडिङ मुक्त गर्ने ओली नेतृत्वको सरकारको योजनालाई आफ्नो सरकारको चमत्कारको रुपमा प्रस्तुत गर्न सफल हुनु ।

– एमाले सम्वद्ध युवाहरुका विरुद्ध योजनावद्ध आक्रमणलाई प्रोत्साहन गर्नु ।

– सुरक्षा निकायको नेतृत्व चयनका वारेमा भागबण्डाको राजनीतिलाई प्रोत्साहन गर्नु ।

– उच्च अदालतमा न्यायाधीश नियुक्तिको प्रक्रियालाई विवादास्पद बनाई अदालतको गरिमालाई कमजोर बनाउनु ।

– राज्यको कार्यकारी प्रमुखले आफ्ना कार्यकर्तालाई कानुन व्यवस्थालाई खलल पुर्याउने गरी वाईसीएललाई प्रतिरोधका लागि आह्वान गर्नु ।

– सरकारको कमजोरीलाई लुकाउन पुननिर्माण प्राधिकरणको कार्यकारी प्रमुख परिवर्तन गर्नु ।

– नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलाई तस्करीको मार्गका रुपमा प्रयोग गर्न सफल हुनु र सुन तस्करीका सन्दर्भमा अर्थमन्त्रीले आफुलाई ‘भुरामाछा’ मात्र रहेको बताउनु र अनुसन्धानको प्रक्रियालाई सिथिल बनाई ‘ठुलामाछा’ उम्काउन सफल हुनु ।

–पूर्ववर्ती सरकारको पालामा निर्णय भई सुनुवाईका लागि सिफारिस गरेका राजदूतहरुको नियुक्ति रोकेर विदेशस्थित नेपाली दुतावासहरुको नेतृत्व लामो समयसम्म खाली राख्न पुग्नु ।

– संसदीय परम्परा विपरित सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षलाई नदिइ आफैले राख्न सफल हुनु ।

– राज्यको श्रोत परिचालन गरी प्रमुख प्रतिपक्षकाविरुद्धमा संगठित प्रचार अभियान संचालन गर्नु ।

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनको सरकारका ६ महिनाका देखिने ‘उपलब्धी’ यही त होलान् नि !?  यसभन्दा बाहेक केही भए थप्न अनुरोध छ ।