२ कार्तिक २०८३, सोमबार

शहीदहरु सोधिरहेछन्: देश देश जस्तो कहिले हुन्छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सरगम भट्टराई

बुद्धको नाम भजाएर,
युद्ध छेँड्ने बिरुद्द लड्नेहरु

सीताको नाम जपेर,
सतीत्व लुट्ने बिरुद्द लड्नेहरु

कोशी हराएको र,
कर्णाली दर्फराएको देख्दा रगत बगाउनेहरु

अरनिकोको नाम बेचेर,
पौरखी हात छिनाएकाहरु बिरुद्द लड्ने,
बीर शहीदहरु सोधिरहेछन्:

साँच्चै  के हुँदैछ यहाँ ?

देशमा मेल देख्दिन अचेल !
देश देश जस्तो कहिले हुन्छ ?

………………………………………….

शालिक ढालेर मालिक बन्ने यहीँ,
मूर्ति ढालेर फूर्ति लगाउने यहीँ,

बिभूतिहरु हत्यारा क़रार हुने यहीँ,
सिमानामा प्रहार हुने यहीँ,

शहीदहरु किनबेच हुने यहीँ,
लुछ्ने यहीँ, लुट्ने यहीँ,

टुट्ने यहीँ, फुट्ने यहीँ,
डनले धानेका दल यहीँ,

दल भित्रै छल यहीँ ,
थाहा छैन के भईरहेछ यहाँ !

देश सफल देख्दिन हाम्रो रगत पोखिदा पनि,
भन्दै सपूतहरु सोधिरहेछन्:

देश देश जस्तो कहिले हुन्छ ?

……………………………………..

गाउँ गाउँ जस्तो छैन अचेल,
रहरहरु त अरबतिर छन्,

शहरहरु शराब तिर छन् ,
शहरका हरु खराब तिर छन्,

गाउँमा मलामी छैन,
घाउमा मलम छैन,

सात्विकता हारिरहन्छ अचेल,
जे गरे पनि छूट देख्छु शहरमा,

बेईमान र झूठ देख्छु शहरमा,
आमाको केश जस्तै झर्दो छ देश,

थाहा छैन के भयो यहाँ ?

देशलाई सन्चो छैन अचेल !
हामीले ज्यान आहुति गर्दा पनि
भन्दै शहीदहरु चिच्याईरहेछन्:

देश देश जस्तो कहिले हुन्छ ?

…………………………………..

हिमालले पहाड सराप्छ अचेल,
तराईले पहाड सराप्छ,

पहाडले तराई सुन्दैन,
तराईले पहाड गन्दैन,

काटाकाट र तानातान देख्छु,
बेमेल र हानाहान देख्छु,

जुटौँ भन्नेहरु निश्चेज  देख्छु,
भाँडौ र बाँडौँ भन्नेहरु तेज़ देख्छु,

भाँडेको देख्छु, भँडाएको देख्छु,
बाहिरीले लडाएको देख्छु,

बुझ्नै कठिन छ अचेल,

देश पहिले जस्तो छैन अचेल,
भन्दै शहीदहरु रोईरहेछन् :

देश देश जस्तो कहिले हुन्छ ?

…………………………………….

हाम्रो रगत के का लागि थियो ?
देश अझै हाँस्न सकेको छैन !

हाम्रो आहुति के का लागि थियो ?
हाम्रै सन्तान भोकै रुँदैछन्,

हाम्रो रगत सस्तो भयो,
कस्तो देश थियो, कस्तो भयो ?

शहीदहरु चित्कार गरिरहेछन्:
हाम्रो ईज्जत कहिले हुन्छ?

देश देश जस्तो कहिले हुन्छ ?