आइतबार, २३ मंसिर २०७५
DainikNepal.com
आइतबार, २३ मंसिर २०७५

‘सरकारले ३ र नर्वेजियन दातृ निकाय २५ लाख दिएको सत्य हो’

दैनिक नेपाल २०७३ माघ २० गते ९:४२

– लोकराज अधिकारी, कोषाध्यक्ष, रोयल्टी संकलन समाज

बेलाबेला कलाकारहरू रोयल्टी संकलनका विषयमा संगठित हुने र दगलफसल गर्ने गरेको सुन्न पाइन्छ । रोयल्टी संकलनका विषयमा धेरै स्रष्टाहरूलाई थाहा पनि छैन । पुराना स्रष्टामा पनि धेरैलाई यो विषयमा ज्ञान नहुन सक्छ । तर, केही वर्षयता गीत, संगीत कसैले सुने वापत पैसा पाइन्छ भन्ने सुन्दा तपाईहामीलाई पनि आश्चर्य लाग्न सक्छ । हो स्रष्टाहरूले गीत संगीतबाट रोयल्टी संकलन गरेर अधिकारप्राप्त स्रष्टालाई रकम हस्तान्तर गर्दै आएका छन् । रोयल्टी संकलन समाजले रचनात्मक राम्रो काम गरे नि बिबाद मुक्त भने हुन सकेको छैन । आन्तरिक व्यवस्थापनमा फितलोपना, नेतृत्वमा पुरानै कार्यसमितिका व्यक्ति दोहोरिने, संस्थाको रकममा आर्थिक अनियमितता आदि आरोप समाजलाई लाग्ने गरेको छ । यसै विषयमा समाजका कोषाध्यक्ष लोकराज अधिकारीसँग हाम्रा सहकर्मी विमल योगीले गर्नुभएको कुराकानी :

० तपाईहरूको संस्थामा वार्षिक कति बजेट हुन्छ ?

– हाम्रो फिक्स बजेट छैन । नेपाल सरकारको तर्फबाट नियमित प्राप्त ३ लाख अनुदान सहयोग र नर्वेजियन दातृ निकाय नरकोडबाट करिव २५ लाख गरी जम्मा २८ लाख । नरकोडको सहयोग पहिलेभन्दा घट्दै गएको छ । अब सधै आउँछ भन्ने छैन ।

० यो बजेट के केमा खर्च गर्नु हुन्छ ?

– कर्मचारीको तलव, घरभाडा, पानी बिजुलीबत्ती, इन्टरनेट, इन्धन र दैनिक कार्यालय संचालन, जनचेतना मूलक कार्यक्रम, बोर्डको बैठक बस्दाको बेला सदस्यलाई यातायात सहजताका लागि बैठक भत्तामा खर्च हुने गर्छ ।

० तपाईहरूको संस्थाको कामकारबाही अपारदर्शी छ भन्ने आरोप छ नि ?

– मैले त्यस्तो आरोप सुनेको छैन । स्रष्टा सदस्यलगायत तपाई जस्ता सञ्चार माध्यमले जतिबेला पनि जानकारी लिन सक्नु हुन्छ ।

० तपाईहरूको संस्थालाई विदेशबाट आइनजिओहरूले रकम दिन्छ भन्ने हल्ला छ नि ?

– मैले बजेटको प्रश्नमा नै यसको जवाफ दिइ सकेको छु । नर्वेजियन दातृ निकाय नरकोडबाट प्राप्त हुने त्यो पनि सिमित समयका लागि करिव २५ लाखको अनुदान बाहेक कतैबाट सहयोग रकम आउँदैन ।

० तपाईहरूका अघिल्ला कार्यसमितिका सीमित पदाधिकारी र सदस्य मिलेर रकम हिनामिना गरेको आरोप छ नि हो ?

– यो पनि आरोपका लागि आरोप मात्रै हो । म यो कार्यकाल पूरा गरे भने ५ वर्ष हुन्छ । हिनामिना भएको देखेको छैन । कहिले काहीँ पेश्की फच्र्यौट हुन ढिला हुँदा बेरुजु देखिनु हिनामिना हैन । पच्चीस लाख भनेको देख्दा ठूलो रकम भए पनि खाजा, तलव र प्रशासनमा खर्च हुनु स्वभाविक हो ।

० तपाई कोषाध्यक्ष हुनुभएको छ । आर्थिक अनियमितता गर्नुभएको छ ?

– मैले आर्थिक पारदर्शितामा सम्झौता गर्दिन । अफिसको काममा हिँड्दा खाजा खानु गाडी चढनुलाई कसैले आर्थिक अनियमितता भन्छ भने त्यसमा मेरो भन्नु केही छैन ।

० नाम चाहिँ रोयल्टी संकलन छ, तर काम स्रष्टाहरूलाई दुःख दिने हुन्छ भन्छन् नि ?

– हामी त सबै श्रष्टालाई सृजनाको सार्वजनिक प्रयोग बापतको रोयल्टी उठाएर जीवन शैली बदल्ने पूण्यकार्यमा स्वयंसेवी भएर लागेका छौँ । कसरी दुःख दिनु । दुःख त हामीले पो पाएका छौँ । तर खुसी छौँ । भोलिको सुःखका लागि केही गरौँ भन्ने छ । कसैलाई दुःख दिएका छैनौँ ।

० रोयल्टी संकलन गर्ने विषयमा पनि तपाईहरू खासै सक्रिय हुनुहुन्न रे नि हो ?

– यो अबधिमा १ दर्जनभन्दा बढि जोर जुत्ता त मेरै फाटी सके । बोर्डका अन्य जिम्मेवार पदाधिकारी र सदस्यहरूको पनि अबस्था त्यस्तै छ । हामी यति सकृय भयौँ कि अबको एक वर्षभित्र रोयल्टी व्यवस्थापनलाई टुङ्गोमा पुगाएर आरामसंग घरमै बसेर रोयल्टी बुझेर घर व्यवहार चलाउने अवस्थामा पुग्दै छौं ।

० पावर भएकाले मात्रै रोल्यटी पाउँछन् रे हो ?

– यसमा पावर, पुरानो र सिनियर, पूर्व प्रशासक या जुनियर भन्ने नै हुँदैन । झण्डै ४० स्थान छन् रोयल्टी संकलनका क्षेत्र मानिने । सार्वजनिक प्रयोगका स्थल ती ठाउँमा जस्को गीत सार्वजनिक प्रयोग हुन्छ । ती ठाउँमा हामीले निर्धारण गरेको मापदण्डअनुसार प्रयोगकार्ताले रोयल्टी तिर्छ । त्यो रोयल्टीसम्बन्धित स्रष्टाले जतिबेला पनि कार्यालयबाट लिन सक्ने व्यवस्था छ । चाहे १ सुका होस् चाहे १ करोड सम्बन्धित स्रष्टाको हातमा बाहेक अन्त जाँदैन । संस्थाको सदस्य अनिवार्य हुन जरुरी छ । करारनामा गर्न जरुरी छ । सृजनाको विवरण पेश गर्न जरुरी छ ।

० गायक, गायिका, संगीतकार, रचनाकारहरू यो संस्थासँग खुसी छन् ?

– बेखुसी हुनु पर्ने कुनै कारण नै छैन ।

० तपाई आफू पनि रचनाकार, कति रोयल्टी पाउनु भएको छ ?

– मेरो सृजनाको सार्वजनिक प्रयोग बापत संगीत रोयल्टी संकलन समाज नेपालको मापदण्डअनुसार संस्थामा संकलन भएको रोयल्टीमा गीतकार लोकराज अधिकारीले पाउनु पर्ने रोयल्टीको सबै हिस्सा पाएको छु ।

० यो संस्थाबाट सबैभन्दा धेरै रोयल्टी अहिलेसम्म कसले बुझेको छ ?

– ठ्याक्कै अहिले मलाई पैसा याद भएन । केही दिनभित्रै ठूलो एमाउण्ट झण्डै २ लाखमाथिको रोयल्टी एकै जनाको हातमा परेको समाचार तपाइले सुन्न पाउनु हुन्छ ।

० रोयल्टी दिन अटेर गर्ने संस्था कुन–कुन हुन् भन्न मिल्छ ?

– रोयल्टीको दायरामा पर्ने क्षेत्र भण्डै ४० छन् । अटेर कतैबाट भएको छैन । हुनै सक्दैन अब । हामी सबैतिरबाट अधिकार सम्पन्न भैसकेका छौँ । यो नयाँ विषय भएकाले यसको व्यवस्थापन कसरी सहज बनाउने भन्ने मात्र हो । त्यो पनि छिट्टै हुँदैछ । अटेर भएको छैन । बरु अब अबेर भएको भने पक्कै छ ।

० खाजा खर्च र तलवमा धेरै फजुल खर्च छ रे नि हो ?

– कर्मचारीहरूलाई त नियमअनुसार बढाएर दिनु पर्ने तलव दिन सकिँदैन बजेट अभावमा । कर्मचारीले खाने खाजा उहाँहरूकै तलवबाट खानु हुन्छ । बाँकी खाजा खाने भनेको पाहुनाको स्वागतका बेला हो । रोयल्टी व्यवस्थापनका लागि गठित अन्य २ वटा संस्थाका पदाधिकारी र संगीतसंग सम्बन्धित संस्थाका पदाधिकारीहरूसंगको बैठक छलफल हुँदा खुवाएको चिया, बिस्कुट, दही, केरा, आलु, चिउरामा गरिएको खर्चलाई फजुल भन्नु हुन्छ र तपाई ? यो त सामन्य शिष्टाचार पनि हो । पैसा नहुँदा नि गर्नु पर्छ । हुँदा त झन् भै हाल्छ ।

० रोयल्टी संकलन समाज फुटको संघारमा छ भनेर बजारमा हल्ला पनि छ नि हो ?

– जरुरी नै छैन । यो गीतकार र संगीतकारको संस्था हो । ५ जना गीतकार ५ जना संगीतकारका प्रतिनिधी सदस्य १ जना गीतकार वा संगीतकारबाट अध्यक्ष हुने संस्था । यसमा न पदको लडाइँ छ । न सुबिधाको । सबैको भलो गर्नका लागि कृयाशील संस्था फुट्नु पर्ने आवश्यकता नै छैन । फेरि यो जस्तो अर्को संस्था बनाउनै मिल्दैन । यो संस्था किन र केका लागि कस्ले फुटाउने ?

० गीतसंगीतको क्षेत्रमा तपाईको भावी योजना के छ ?

– गीतकार हुँ । राम्रा राम्रा गीत लेख्ने बजारमा ल्याउने । रोयल्टी व्यवस्थापनको यो अभियानमा समय दिँदा लेख्न नपाएका रेकर्ड गर्न नपाएका गीत रेकर्ड गर्ने र सबैभन्दा धेरै रोयल्टी पाउने गीतका गीतकार भनेर तपाइले फेरि अन्तर्वार्ता लिने दिन ल्याउने । पूर्ण रुपमा रोयल्टी व्यवस्थापन भएको दिन सबै नेपाली स्रष्टाको सुनौलो भविस्य आफ्नै आँखा अगाडि देखेर खुसीले कम्तिमा १० मिनेट ननस्टप खुसीका आँशु झार्ने ।

प्रतिक्रिया
सम्बन्धित