काठमाडौं, २० माघ । भारत सरकारले नेपाललाई दिने अनुदान रकम बढाएको छ । भारतीय अर्थमन्त्री अरुण जेट्लीले संसदमा बुधबार प्रस्तुत गरेको बजेटमा नेपाललाई दिने अनुदान बढाउने प्रस्ताव गरिएको छ ।
गत वर्ष भारतले नेपाललाई ३ अर्ब २० करोड भारु अनुदान दिएकोमा यस वर्ष ३ अर्ब ७५ करोड पुर्याउने प्रस्ताव भारतीय युनियन बजेटमा गरिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
यो गत वर्षको तुलनामा ५५ करोड भारु बढी हो । भारतले यस वर्ष (आव २०१६–१७) मा ३ अर्ब भारु अनुदान दिने घोषणा गरेकोमा त्यो बढेर ३ अर्ब २० करोड पुगेको बजेटको खर्च अनुमानमा उल्लेख छ ।
त्यसअघि सन् २०१५–१६ मा भारतले नेपाललाई ३ अर्ब ९ करोड भारु अनुदान दिएको थियो । भारतले दक्षिण एसियामा सबैभन्दा धेरै भुटानलाई ३७ अर्ब १४ करोड अनुदान घोषणा गरेको छ ।
नेपाललाई गरेको सहयोग त्यसपछिको धेरै हो । त्यस्तै, अफगानिस्तानलाई ३ अर्ब ५० करोड भारु अनुदान दिँदै छ ।
प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई सवा ११ करोड
भारतले नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठानलाई छुट्टै अनुदान सहयोगको घोषणा गरेको छ । उसले गृह मन्त्रालयमार्फत प्रतिष्ठानलाई ११ करोड ३३ लाख भारु अनुदान सहयोग गर्ने युनियन बजेटमा उल्लेख छ ।
त्यस्तै, बजेटमा सीमा क्षेत्रमा नदी व्यवस्थापनसँग सम्बन्धित गतिविधि गर्ने उल्लेख गरेको छ । त्यस्ता गतिविधि सीमा क्षेत्र तथा छिमेकी मुलुकमा समेत सञ्चालन गरिने बजेटमा उल्लेख छ । ती गतिविधिहरूमा नदी नियन्त्रण, भूक्षण नियन्त्रण तथा कोसी र गन्डक परियोजनामा मर्मतसम्भारको कामलगायत पर्ने बजेटमा उल्लेख छ ।












प्रतिक्रिया