जेरुसेलम, १५ माघ । इजरायली प्रहरीले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको जेरुसेलमस्थित निवासमा पुगी पदीय मर्यादा विपरित धनाड्य समर्थकबाट उपहार लिएको र भ्रष्टाचार गरेको आशङ्कामा तेस्रो पटक सोधपुछ गरेको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।
प्रहरीले प्रधानमन्त्रीसँग करिब चार घण्टा सोधपुछ गरेको स्थानीय एक रेडियोले जनाएको छ । उक्त रेडियोले नेतन्याहूमाथि प्रहरीले आगामी हप्ताको मध्यतिर पुनः एक पटक सोधपुछ गर्नसक्ने प्रहरीले बताएको जनाएको छ ।
यस विषयमा इजरायली प्रहरी प्रवक्तासँर्ग सम्पर्क गर्दा प्रतिक्रियाका लागि उहाँ उपलब्ध हुनुभएन ।
स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार नेतन्याहूले एक इजरायली व्यवसायी र हलिउड निर्माता अर्नोन मिल्चानबाट लाखौँ अमेरिकी डलर बराबरको महङ्गा चुरोट लिने गरेको बताइएपछि यस सम्बन्धमा प्रहरीले छानबिन गरिरहेको छ । मिल्चान नेतन्याहूका पुराना साथी भएको र साथीबाट उपहार लिनु कुनै अपराध नहुने प्रधानमन्त्रीले बताउदै आउनुभएको छ ।
मिल्चानले प्रधानमन्त्री पत्नी सारालाई ‘पिङ्क वाइन’ लिएको भनी लागेको आरोपमा समेत प्रधानमन्त्रीसँग छानबिन भइरहेको छ ।
यस सम्बन्धमा प्रधानमन्त्रीले इजरायली संसदमा स्पष्टीकरण समेत दिनुभएको थियो । गत बुधबार संसदमा आफूबारे उठाइएको आशङ्काका सम्बन्धमा बोल्दै “साथीबाट उपहार लिन सकिने भन्दै आफूले कुनै अपराध नगरेको” बताउनुभएको थियो ।
यस विषयमा विपक्षीद्वारा अनावश्यक हल्ला गरेर आफ्नो राजनीतिक प्रभावमाथि बदनाम गराउन खोजेको बताउँदै आउनुभएको छ । –एएफपी











प्रतिक्रिया