वासिंगटन, १३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सय दिने कार्ययोजनामा सामेल भएका एजेण्डाहरुलाई एकपछि अर्को गर्दै लागू गर्ने तयारी गरेका छन् ।
ओबामाकेयर, टीपीपीजस्ता ओबामा प्रशासनका महत्वपूर्ण कदम निश्कृय पारेका ट्रम्पले आफ्नो पूर्वयोजना अनुसार नै मेक्सिकोसँगको सीमा क्षेत्रमा पनि पर्खाल निर्माण गर्नेसहितका केही निर्णयमा हस्ताक्षर गर्ने तयारी गरेका छन् ।
उनले महत्वपूर्ण दिनको योजना रहेको उल्लेख गर्दै राष्ट्रिय सुरक्षाका लागि केही कदम चाल्न लागेको संकेत गरेका छन् । उनले आगामी केहीदिनभित्रै राष्ट्रिय सुरक्षा तथा आप्रवासीका विषयमा महत्वपूर्ण निर्णयमा हस्ताक्षर गर्ने तयारी गरेका हुन् ।
उनको योजनामा मेक्सिकोको सीमामा पर्खाल लगाउनेदेखि मध्यपूर्व र अफ्रिकाका केही देशबाट आउने आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाउने विषय समावेश रहेको बताइएको छ । उनले राष्ट्रपतिको निर्वाचनको प्रचारका क्रममा मेक्सिकोसँगको सीमा क्षेत्रमा २ हजार माइल अग्लो पर्खाल लगाउने घोषणा गरेका थिए ।
करिब ८ बिलियन डलर बराबरको खर्च मेक्सिकोले बेहोर्ने उनले बताएका थिए । तर मेक्सिकोका राष्ट्रपति एनरिक पेना नेइटो र वरिष्ठ अधिकारीहरुले त्यसलाई ‘हावादारी’ कुराको संज्ञा दिँदै मेक्सिकोले पैसा नतिर्ने स्पष्ट पारेका थिए ।
उनले यसै साताको अन्त्यसम्ममा ७ वटा अफ्रिक र मध्यपूर्वक देशहरुबाट आउने आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाउने आदेशमा हस्ताक्षर गर्नेछन् । जसमा इराक, सिरिया र यमन समेत रहेका छन् । – एजेन्सी











प्रतिक्रिया