
काठमाडौं, १२ माघ । नेपाल वायुसेवा निगमले निर्दोष पाइलटलाई विनाकारण कारबाही गर्दै आएको छ । जसका कारण पाइलट निरुत्साहित मात्र नभई कुनै घटना वा त्रुटि हुँदासमेत भन्न हच्किन थालेका छन् ।
निगमले पाइलटलाई ग्राउन्डेड (निश्चित–अनिश्चित अवधिका लागि उडानबाट बन्देज) गरिएपछि समस्त पाइलटको इज्जतमा आँच आएको छ । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
निर्दोष क्याप्टेनलाई विनाकारण कारबाही गर्दा समग्र उडान पेसामै ठूलो धब्बा पनि लाग्न सक्ने कुरालाई ध्यान पुगाउन नसकेको गुनासो गरिँदै आएको छ ।
नेपाली उड्डयन क्षेत्रमा पाइलटको अत्यन्त बढी माग छ । निगमको व्यवहारका कारण कुनै पनि वेला पाइलटले छाडेर अन्यत्र जाने सम्भावना बढ्न थालेको छ ।
निगमले पाइलट माग गर्दा न्यून दरखास्त पर्न थालेको छ । निगमका पाइलटले प्राइभेट एअरलाइन्सको दाँजोमा १० देखि १५ प्रतिशत मात्र मासिक तलब लिई देशको एक मात्र ध्वजावाहक संस्था भनेर देशको सेवा गरिरहेका छन् ।
निकट भविष्यमा ठूलो जहाज आएको खण्डमा उडाउन पाउने अवसर पनि देखेका कारण स्वैच्छाले आएका क्याप्टेनसमेत निगमको व्यवहारले निराश हुन थालेका छन् ।












प्रतिक्रिया