१ कार्तिक २०८३, शनिबार

बिबादमा फस्यो लमही महोत्सव, कलाकारहरूलाई अपमान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्बिर सिर्जना खत्रीको फेसबुकबाट

लमही, १० माघ । सुरूदेखि नै विवादमा परेको लमही व्यापारिक महोत्सव दिनप्रति दिन विवादित बन्दै आएको छ । विवादले यति उग्ररुप लिएको छ कि महोत्सवबीचमै अवरुद्ध हुने अवस्थामा पुगेको एकथरिको आरोप छ ।

तर, महोत्सव कुनै बाधा व्यवधानबिनै चलिरहेको आयोजकको दाबी छ ।

महोत्सवले पाँचौँ दिन पार गर्दैगर्दा कलाकारहरूलाई शारीरिक सम्पर्कका लागि दबाब दिएको आरोप पनि लागेको छ । विशेष गरेर महिला कलाकारहरूलाई अनैतिक कार्यका लागि दबाब दिएको स्रोतले जनाएको छ ।

‘मोडल, गायिका र कुनै पनि कलाकार नभएकालाई महोत्सवमा ल्याएर प्रस्तुति गर्न दिएको पाएका छौँ’, आयोजकमध्येकै एक सदस्यले भने, ‘केही राम्रा र नाम चलेका कलाकारबाहेक अरु सबै झिनामसिना कलाकार ल्याइएको छ । दाङकै कलाकार भएको भए त ठीकै थियो । तर बाहिरी जिल्लाका साधारण कलाकारलाई किन स्थान दिइयो ?’ ती सदस्यका अनुसार दाङ जिल्लाका कलाकारहरूलाई पनि भेदभाव गरेर बालाइएको छ ।

‘दाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने थुप्रै राष्ट्रियस्तरका कलाकार छन्’, असन्तुष्ट एकजना कलाकारले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘हामीलाई बोलाइँदैन । बरु नामै नसुनिएका । एउटा गीत रेकर्ड गराएर गायक गायिका हुँभन्दै हिँड्नेलाई बोलाइन्छ । लमही महोत्सवमा पनि यस्तै देखियो ।’

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक सुरज खड्काले कलाकारहरूलाई यौन शोषण वा अन्य कुनै अभद्र व्यवहार भएको उजुरी आफूसमक्ष नआएको बताए । ‘महोत्सव चलिरहेकाले त्यहाँको सुरक्षामा ध्यान दिएको छु’, उनले भने, ‘अहिलेसम्म यौनशोषणको कुरो आएको छैन । आयो भने छानविन गरेर दोषीलाई कानूनको दायरामा ल्याउँछु ।’

महोत्सव आयोजक एवम् देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष शोभाकर घिमिरेले कलाकारलाई अभद्र व्यवहार वा यौनशोषणको आरोप झुठ्ठा रहेको दाबी गरे । ‘महोत्सव सुरु हुनुअघिदेखि नै केही विरोधीहरूले विरोध गर्नुका साथै गलत प्रचार गरेका थिए । अहिले कलाकारहरूलाई यौनशोषणको हल्ला फिजाएर महोत्सव बद्नाम गर्ने कुचेष्टा थालेका छन् ।’

अध्यक्ष घिमिरेले भने, ‘सांस्कृतिक पक्षको जिम्मेवारी विनोद विसीलाई दिएका छौँ । उहाँले नै कालकार ल्याउने र कार्यक्रम देखाउने जिम्मेवारी पाउनु भएको छ ।’

कलाकार ल्याउने र सांस्कृतिक कार्यक्रम देखाउने जिम्मेवारी पाएका विनोद विसीसँग उनको मोवाइलमा सम्पर्क गर्दा फोन उठेन ।
देउखुरी उद्योग वािणज्य संघले माघ ५ देखि १५ सम्म देउखुरी कृषि पर्यटन तथा व्यापषरिक महोत्सवको आयोजना गरेको हो । महोत्सवको सह–आयोजक होटेल व्यवसायी समिति ईकाई लमही हो ।

नगर विकास समिति लमहीले क्रिकेट मैदानलाई महोत्सवका लागि भाडामा लगाएको भनेर विरोध पनि भएको थियो । विरोधका बाबजुद क्रिकेट मैदान महोत्सवका लागि दैनिक पाँच हजार भाडा लिने गरेर आयोजकलाई दिइएको आरोप छ ।

महोत्सवमा अहिलेसम्म ज्योति मगर, रोमा न्यौपाने, विनु खड्का, जीवन शर्मा, रामजी खाँड, रीता केसी, कमल खत्री, सिर्जना खत्री, हेमन्त शर्मालगायतले आ–आफ्नो प्रस्तुति दिइसकेका छन् ।