काठमाडौं, ९ माघ । राणा प्रधानमन्त्री श्री ३ वीरशमशेरकालीन असनको ढल मर्मतसम्भार गर्न भन्दै जथाभाबी भत्काउँदा अहिले राजधानीको यो पुरानो बजार हिँडिनसक्नु गरी दुर्गन्धित भएको छ ।
यो बजारको मुख्य गल्ली सम्पदा मार्गमा जथाभाबी सात फिट गहिरो खाल्टो बनाइएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
महानगरले ढल थुनिएको भन्दै बिनायोजना ४–५ ठाउँमा ठूल्ठूला खाल्टा खनेपछि पुरानो ढल भेटिएको छ। उक्त पुरानो ढलमा वीरशमशेरकालीन इँट भेटियो तर महानगर र स्थानीयले यो ऐतिहासिक पक्षको बेवास्ता गरे ।
महानगरपालिका ३० असन बजारको ढल अहिले भताभुंग पार्दा यो ऐतिहासिक र पुरानो बजार सुनसान बन्न थालेको छ । करिब डेढ सय वर्षअघि निर्माण गरिएको ढल महानगर र राज्यका निकायले समयमा मर्मत नगर्दा अहिले ठप्पजस्तै भएको छ ।
मर्मतसम्भार भन्दै पुरानो ढल जथाभाबी खन्दा असन नै दुर्गन्धित बनेको काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा पूर्वमन्त्री पीएल सिंहले बताए । ‘ढल बाहिर बगेपछि ऐतिहासिक असन बजार प्र्रभावित भयो तर नयाँ योजना ल्याउन नसक्दा, मर्मत र पुनर्निर्माण गर्न नसक्दा र स्थानीयले पुराना सम्पदालाई बेवास्ता गर्दा ढल अलपत्र बनेको छ’, सिंहले भने ।
इन्जिनियरले ऐतिहासिक स्थलको संरक्षणमा चासो नदिई नयाँ योजना ल्याउनु विकासका नाममा विनास हुने उनको आरोप थियो । पुरातात्विक स्थल जोगाउन सोचेर काम गर्नुपर्ने तर पुर्खाले गरेको कामलाई भत्काउँदा इतिहास मेटिएको भन्दै उनले दुखेसो पोखे ।
बन्द भएको भन्दै महानगरले एक महिनायता बिनायोजना जथाभाबी सडकसडकमा प्वाल पारेर ढल निकालेको छ । जम्मा एक लाख पचास हजार रुपैयाँको न्यून बजेटले असन बजारको पूरै ढल मर्मतसम्भारका नाममा खनिएपछि बजार पूरै दुर्गन्धित बनेको हो ।
‘खन्न सुरु गरिएको थियो। पैसा सकिएको भन्दै बन्द गरे । हामी चकित प-यौं’, ज्याठा ठमेल पर्यटन समितिका संयोजक योगेशकुमार खड्गीले भने। दुर्गन्धले बजारमा पर्यटकदेखि बटुवासमेतको आवतजावत महिना दिनदेखि पातलिँदै गएको खड्गीले बताए ।
राज्यले दरबारस्क्वायर क्षेत्रमा पर्यटक भित्र्याउने मुख्य मार्गका रूपमा घोषणा गरेको सम्पदा मार्ग नै ढलमय बनेको छ । ढल पुनर्निर्माण र मर्मतका लागि महानगरपालिका र सम्पदा विभागमा हारगुहार गरे पनि कुनै चासो नदिएको उनको भनाइ छ।
इतिहास जोडिएको ढलको अस्तित्व नै समाप्त भएको भन्दै उनले यसमा चासो दिन माग गरे । व्यस्त बजारमध्ये एक मानिने असन बजार दुई वर्षयता ढल पुरिएर केही घरमा निकास नै बन्द भएको छ। कुनाटोल, इनवालटोल, गोसीफल मार्ग, भमलुचोक, ज्वालामाई मार्ग, ज्याठा ठमेल, असन चोक र आसपासका गल्लीमुनि बग्ने ढल बन्द भएका छन् ।
अहिले ढल सडकमा बग्दा जनजीवन अस्तव्यस्त बनेको छ। ‘सडकमा हिँड्ने अवस्था छैन। जबर्जस्ती पसल खोलिए पनि सेवाग्राही नआएपछि समस्या भएको छ’, असन टोलसुधार समितिका अध्यक्ष अमूल्य मानन्धरले भने ।












प्रतिक्रिया