४ मंसिर २०८३, शुक्रबार

समाचारले चित्त दुःख्यो सांसद गोपाल दहितको, आइपुग्यो चेतावनीयुक्त कडा खण्डन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । थरुहट तराई पार्टीले दैनिक नेपाल डटकममा प्रकाशित समाचारप्रति चित्त दुःखाउँदै झुठ समाचारको संज्ञा दिएको छ ।

सो पार्टीका सचिव मीनराज चौधरीले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर आफूहरूको खण्डन प्रकाशित नगरे कानूनी उपचार खोज्न बाध्य हुने चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘दैनिक नेपाल अनलाईन न्यूज पोर्टलमा २०७३ माघ ६ गते बिहीबार ६ः३० बजे संप्रेषण भएको ‘निर्वाचन आयोगमा गोपाल दहितले मर्यादा भुलेपछि…’ शीर्षकको सामाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

सांसद गोपाल दहितले मर्यादा भुली तथानाम भन्न थाले……भन्ने आदि विषयक हुँदै नभएको कुरालाई उच्चस्रोत र युनाइटेड पोष्टलाई स्रोत उदृत गरी संप्रेषण भएको सामाचारप्रति कुनै सत्यता नभएको पार्टीको तर्फबाट खण्डन गर्न चाहन्छौ ।’

सचिव चौधरीले अगाडि भनेका छन्, ‘स्वतन्त्र, निश्पक्ष एवं तटस्थ भएर सामाचार संप्रेषण गर्ने पत्रकारिताको मूल्य मान्यतालाई भूलेर उच्चस्रोतलाई उद्धृत गरी दैनिक नेपालमा संप्रेषण भएको सामाचार एकदमै पूर्वाग्री, कपोकल्पित एवं मनगढन्ते रहेको छ ।’

पार्टीमा भएको समस्यालाई निरुपण गर्न निर्वाचन आयोग नेपालको रोहबरमा छलफलका लागि बोलाइएको बैठक एकदमै मर्यादित एवं सौहाद्र्धपूर्ण वातावरणमा सम्पन्न भएको सो पार्टीले दाबी गरेको छ ।

‘अमूर्त स्रोतको हवाला दिएर हुँदै नभएको मनगढन्ते सामाचरले कुनै दल वा व्यक्ति विषेशको मान प्रतिष्ठा, ओजलाई धमिल्याउने कार्य कदापी पनि कसैलाई सह्य हुँदैन । यसप्रति हामी खेद व्यक्त गर्दै घोर भर्तसना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

‘अर्को कुरा थरुहट तराई पार्टी नेपालको सम्बन्धमा बारम्बार अफाव र भ्रम फैलाउदै यस न्यूज पोर्टलमा संप्रेषण भएका समाचार संप्रेषित भएका केही छिनमै रिमूभ हुन्छ किन ?’, विज्ञप्तिमा सचिव चौधरीले भनेका छन्, ‘यसैबाट दैनिक नेपालका पत्रकारमाथि हामीलाई शंका लागि रहेको छ । यसको खण्डन नभए हामी कानुनी उपचार खोज्न बाध्य हुने छौं ।’

(प्रेस विज्ञप्तिमा भनिए जस्तै समाचारका कुनै पनि लिङ्क हटाइएका छैनन् । समाचारका लिङ्क यथावत खुल्छन् । – स.)