प्रिस्टिना (कोसोभो), ६ माघ । कोसोभोका प्रधानमन्त्री इसा मुस्ताफाले कोसोभोविरुद्ध धम्कीको भाषामा बक बक नगरी वार्तामा आउन र सहयोगको हात बढाउन सर्बियालाई आह्वान गर्नुभएको छ ।
कोसोभो र सर्बियाबीच तनाव कायमै रहेकोमा हालैका दिनहरूमा अझ चुलिएर गएको छ ।
गत सप्ताहान्तमा कोसोभोको मानचित्रलाई सर्बियाको झण्डाभित्र सजाइएको चित्र र ठूला ठूला अक्षरमा ूकोसोभो सर्बिया नै हो भन्ने नारा अङ्कित गरिएको एउटा सर्बियाली रेल कोसोभोको सीमासम्म ल्याई प्रदर्शन गरिएपछि कोसोभो आक्रोशित भएको थियो ।
सर्बियाका राष्ट्रपति तोमिस्लाभ निकोलिकले हालै मात्र कोसोभोका आदिवासी अल्बानियाली नेताहरूलाई युद्ध पिपासुु भन्ने आरोप लगाउनु भएको र सर्बियाले आफ्नो भूभागको एक इन्च पनि नछोड्ने चेतावनी दिनुभएको छ ।
सन् २००८ मा कोसोभोले सर्बियाबाट छुट्टिएर सार्वभौमसत्ता सम्पन्न एक स्वतन्त्र राष्ट्र भएको घोषणा गरेको थियो । तर, कोसोभोको यस स्वतन्त्रतालाई बेल्ग्रेडले मान्यता दिइसकेको छैन ।
कोसोभो र सर्बियाबीचको खिचातानीलाई युरोपेली सङ्घको मध्यस्थतामा वार्ता गरी टुङ्गो लगाउनु बाहेक अन्य बिकल्प नरहेको भनी प्रधानमन्त्री मुस्ताफाले वार्तामै जोड दिनुभएको छ ।
यता, रुसको आडमा सर्बियाले कोसोभोमाथि आफ्नो नियन्त्रण र प्रभाव जमाउने ध्याउन्नमा लागेको छ । कोसोभोको उत्तरी खण्ड अल्पसङ्ख्यक सर्बियालीहरूको बसोबास क्षेत्र हुँदा सर्बियाले निहुँ खोज्ने मौका पाइरहेको बताइएको छ ।
कोसोभोका आदिवासी अल्बानियाली पृथकताबादी नेताहरूविरुद्ध सर्बियाले रक्तपातपूर्ण तीब्र सैनिक कारबाही गरेकोमा सन् १९९९ मा नेटो नेतृत्वका सैनिकहरूले तीन महिनासम्म सर्बियाली सेनाविरुद्ध हवाई आक्रमण गर्ने क्रममा कोसोभोको उत्तरी क्षेत्र आफ्नो नियन्त्रणमा लिएका थिए ।
फलस्वरूप सर्बियाली सैनिक पछि हट्नु परेको थियो । यसले गर्दा सर्बिया र कोसोभोबीच बैमनस्य झन् झन् बढ्दै गएको बताइन्छ । – एपी











प्रतिक्रिया