काठमाडौं, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तारको तयारी गरिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सरकारमा सहभागिताका विषयमा अनिच्छा देखाएका छन् ।
उच्च स्रोतका अनुसार दुबै दलभित्रको आन्तरिक विवाद र सरकारको छोटो समयको आयूलाई लिएर सरकारमा जाने कुराले खासै महत्व पाउन छाडेको हो ।
‘थोरै समयका लागि सरकारमा किन जाने र ?’, फोरम लोकतान्त्रिकका एक नेताले भने, ‘बरु राजनीतिक एजेन्डा मिल्यो भने सरकारलाई बाहिरैबाट सहयोग गर्न सकिन्छ ।’
फोरम लोकतान्त्रिकले वर्तमान सरकारलाई समर्थन गर्दै आएको छ । सरकार निर्माणका बेला फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले प्रधानमन्त्री पुष्पकमल दाहालका पक्षमा मतदान गर्ने निर्णय गरेका थिए ।
राप्रपाका एक पदाधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘महाधिवेशन अगाडि राप्रपाले सरकारमा थप मन्त्री पठाउँदैन । केही विषयमा आन्तरिक समस्या छ ।’ महाधिवेशनबाट राप्रपाको निर्वाचित अध्यक्ष दाउमा रहेका कमल थापाले अहिले नै को मन्त्री बन्ने विषयमा विवाद ल्याएर आफ्नो पक्षको माहोल विगार्ने पक्षमा छैनन् ।
राप्रपाका तर्फबाट अहिले पनि सरकारमा दुई मन्त्री छन् । राप्रपाबाट अरु दुई मन्त्रीलाई शपथ गराउने तयारीमा रहे पनि कुरा नमिलेको स्रोतको भनाइ छ ।
उता, प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार स्वदेश फिर्ता हुनेवित्तिकै मन्त्रिपरिषद विस्तारको तयारी थालेका छन् । स्रोतका अनुसार राप्रपा र फोरम लोकतान्त्रिकले अनिच्छा देखाए पनि प्रधानमन्त्रीले साना दलहरूलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्न लागेका छन् ।
साना दलहरूबाट प्रेमबहादुर सिंह, कुमार खड्कासहितका सांसदहरू मन्त्री बन्ने तयारीमा रहेको बुझिएको छ ।
संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पारित गराउन प्रधानमन्त्री प्रचण्ड विभिन्न पार्टीलाई मन्त्री पद दिएर आवश्यक दुईतिहाइ मत जुटाउन लागिरहेका छन् ।












प्रतिक्रिया