चितवन, ३ माघ । देशभरका सहकारी संघ संस्थाहरुको एक मात्र बैंकका रुपमा रहेको राष्ट्रिय सहकारी बैंक लिमिटेडको शाखा चितवनमा तत्काल सञ्चालन गर्न चितवनका सहकारीकर्मीहरुले माग गरेका छन् ।
चितवनका सहकारीहरुको ३ अर्ब भन्दा बढी रकम अन्य बैंक तथा वित्तीय संस्थामा रहेको र सहकारीहरुले अन्य बैक तथा वित्तीय संस्थाबाट कर्जा नपाउने अवस्थाको अन्त्यका लागि सहकारी बैंक आवश्यक रहेको सहकारीकर्मीहरुको भनाइ छ ।
जिल्ला सहकारी संघ चितवन र प्रभात दिदी बहिनी वचत तथा ऋण सहकारी संस्थाको संयोजनमा आयोजित राष्ट्रिय सहकारी बैंक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी सहकारीकर्मीहरुले यस्तो माग गरेका हुन् ।
कार्यक्रममा बैंकको संक्षिप्त परिचय दिदै बैंकका सञ्चालक रामबहादुर जिसीले सदस्य सहकारी संघ संस्थाहरुको वित्तीय व्यवस्थापनका साथ सहकारी शिक्षा, सुशासन लगायत प्रविधिका क्षेत्रमा बैंकले सहयोग पुर्याउने बताउनुभयो ।
कार्यक्रममा नेफ्स्कुनका महासचिव चन्द्र ढकाल, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण देवकोटा, नेफ्स्कुनका सञ्चालक भरतप्रसाद दवाडी, सहकारी प्रशिक्षण तथा डिभिजन सहकारी कार्यालय चितवनका प्रमुख रेवतीरमण पोखरेल, बचत तथा ऋण सहकारी संघ चितवनका अध्यक्ष तेजेन्द्र खड्का, कृषि सहकारी संघका अध्यक्ष हरिप्रसाद पौडेल, जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष हरिहर सुवेदी, बहुउद्देश्यीय सहकारी संघका दिनेशकुमार दुवे, जिल्ला वचत तथा ऋण सहकारी संघ नवलपरासीका अध्यक्ष माधव गौतम लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
उहाहरुले चितवनमा छिटो भन्दा छिटो बैंकको शाखा सञ्चालन गर्न, बैंकको सेवालाई थप प्रभावकारी बनाउन, सहकारी अभियानलाई सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्न माग गर्नु भएको थियो ।
कार्यक्रम नेफ्स्कुनका सञ्चालक शान्ति अधिकारीको अध्यक्षता, जिल्ला सहकारी संघ चितवनका अध्यक्ष टिकाराम भट्टराईको स्वागत र बैंकको हेटौडा शाखाका प्रमुख हिरा सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।
















प्रतिक्रिया