४ मंसिर २०८३, शुक्रबार

मधेसबिनाको काठमाडौं कल्पना गर्न सकिँदैन : प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दुवई, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसबिनाको काठमाडौंको कल्पना गर्न नसकिने बताएका छन् ।

आइतबार दुवईमा प्रवासी नेपालीहरूले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री दाहालले भने, ‘पहाड र मधेसका नाममा क्षेत्रीय ध्रुवीकरण बढ्नु हुँदैन । हिमाल, पहाड र तराईबीचको एकता जोगाउनु हाम्रो पहिलो दायित्व हो ।’

उनले कुनै जाति, क्षेत्र र समुदायलाई धकेलेर राष्ट्रियता बलियो बनाउन नसकिने बताए । मधेसका लागि काठमाडौं र काठमाडौंका लागि मधेस दुवै अभिन्न रुपमा जोडिएको दाहालको भनाइ छ ।

‘मधेसबिनाको काठमाडौंको कल्पना पनि गर्न सकिँदैन । सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रिय एकता र अखण्डताकै लागि हो’, दाहालले भने ।

सरकारको चासो आर्थिक समृद्धि र बिप्रेषणको प्रतिफलयुक्त आयोजनामा लगानी गर्नुमा रहेको प्रधानमन्त्री दाहालले जानकारी दिए ।

प्रधानमन्त्रीले भने, ‘मेरो नेतृत्वमा सरकार बनेदेखि निरन्तर देश दौडाहामा छु । कसरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ, कसरी राष्ट्रिय आयोजनाहरू छिटो सम्पन्न गर्न सकिन्छ ।’

उनले विदेशमा पसिनाबाट आर्जेको बिप्रेषण कसरी सदुपयोग र लगानी गर्न सकिन्छ भन्ने विषयमा आफू निरन्तर प्रयास गरिराखेको बताए ।

‘आज साउदी अरबको विकास र चमत्कार हेर्ने अवसर मिल्यो । संसारका सबैभन्दा ठूला र अग्ला टावरहरु हेरियो । यहाँ मानव निर्मित टावर छ, नेपालमा प्राकृतिक टावर (सगरमाथा) छ । यी दुई वटा टावरलाई जोडेर नेपालको विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ’, उनले भने ।