कायरो, २ माघ । इजिप्टको एक अदालतले हालै तीनजना मानवअधिकारकर्मीको सम्पत्ति रोक्का गर्ने फैसला गरेपश्चात् युरोपेली सङ्घ र संयुक्त अधिराज्यले यसको आलोचना गरेकामा इजिप्टले यसविरुद्ध कडा आक्रोश प्रकट गरेको छ ।
इजिप्टको विदेश मन्त्रालयद्वारा आज प्रकाशित एक विज्ञप्तिमा अदालतले गरेको कुनै पनि आदेश, निर्णय वा फैसलाउपर युरोपेली सङ्घ र संयुक्त अधिराज्यले आलोचना गर्नु इजिप्टको आन्तरिक मामिलामा ठाडो हस्तक्षेप गरेको मानिने र यस्तो हस्तक्षेप इजिप्टलाई सह्य नहुने जनाइएको छ ।
साथै, उक्त विज्ञप्तिमार्फत युरोपेली सङ्घ र संयुक्त अधिराज्य बेलायतलाई अन्य देशको आन्तरिक मामिलामा नचाहिँदो चियोचर्चो नगर्न, फोस्रो आडम्बर नदेखाउन, दोहोरो मापदण्डको व्यवहार अवलम्बन नगर्न र खुरुखुरु आफ्नो मतलवको काममा मात्र लाग्न (टु माइन्ड दियर ओन बिजिनेस) चेतावनीसमेत दिइएको छ ।
इजिप्टमा सन् २०११ देखि नागरिक समाज तथा मानवअधिकारवादीका कम्तीमा बाह्रवटा समूहले मानवअधिकार हनन वा सरकारीस्तरबाट सर्वसाधारणउपर थिचोमिचो भएको मामिला निरुपण गर्दै आएका छन् ।
यस प्रकारको गतिविधि इजिप्ट सरकारलाई टाउको दुखाइको विषय भएको प्रतित भइरहेको छ । सोही वर्षदेखि नै इजिप्टले नागरिक समाज र मानवअधिकारकर्मीउपर बक्रदृष्टि राख्दै आएकामा हाल व्यापक रुपमा रुखो र कडा व्यवहार प्रदर्शन गर्दै आएको जनाइएको छ ।
गत बुधबारमात्र इजिप्टको स्थानीय एक अदालतले तीनजना मानवअधिकारकर्मीको सम्पत्ति रोक्का गर्ने गरी फैसला गर्नुलाई सरकार नागरिक समाज र मानवअधिकारकर्मीलाई समर्थन र सद्भाव प्रदर्शन गर्न चाहँदैन भन्ने उदाहरण दिइएको भन्ने टिप्पणी गरिएको छ ।
युरोपेली सङ्घ र संयुक्त अधिराज्यले ‘इजिप्टियाली अदालतको यस्तो फैसलाले विश्व नागरिक समाज र मानवअधिकारकर्मीहरु चिन्तित हुने’ भनी एक सामान्य आलोचना गरेकामा युरोपेली सङ्घ र संयुक्त अधिराज्यविरुद्ध इजिप्ट यसरी खनिनु उचित नभएको भन्ने जनाइन्छ । – एपी











प्रतिक्रिया