काठमाडौं, २६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले भूकम्पपीडित जनतालाई राहत दिननसक्ने वर्तमान सरकार पनि असफल भएको बताएका छन् ।
उनले भूकम्पपीडित जनताको विषयमा काम नगर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई कारबाही गर्नुपर्ने समेत बताए ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राणाले भने, ‘भूकम्पपीडित जनताको विषयमा काम गर्न सरकार पूर्णरूपमा असफल भएको हो,’ उनले भने, ‘प्रचण्डजीको सरकार पनि भूकम्पपीडितको पक्षमा काम गर्न नसकेर असफल भएको छ । दुई दुई वटा जाडोमा पनि कठ्याङ्ग्रीर राख्न नहुने थियो । यो सबैभन्दा ठूलो पाप हो। यसमा सरकार र प्राधिकरण दुबै दोषी छन् । त्यसैले ज्ञवालीलाई हटाएर भए पनि पीडित जनतालाई केही दिनुपर्यो ।’
राणाले पीडित जनताका विषयमा आफूले पहिलेदेखि नै कुरा राख्दै आएको बताउँदै यसरी जनतालाई अलमल्याएर राख्न नहुने बताए । ‘सिईओ होस् कि सरकार काम गर्न नसक्ने कसैलाई पनि छोड्नुहुन्न, कारबाही गर्नैपर्छ,’ राणाले भने, ‘५० हजारले पीडितको घरको जग हाल्न पनि पुग्दैन तुरून्त कुनै बैकल्पिक व्यवस्था गर्नुपर्छ ।’
‘नागरिकताको विषयमा हाम्रो समर्थन छैन्’
सरकारले हालै संसदमा टेबुल गरेको संविधान संशोधन विधेयकका विषयमा राप्रपाले कुनै आधिकारिक धारणा नबनाएको भन्दै राणाले भने, ‘यो विधेयकको विषयमा हामीले कुनै आधिकारिक धारणा बनाएका छैनौं, मधेसको समस्या समाधान गर्नुपर्छ भन्ने पक्षमा हामी छौं । संशोधन विधेयकमा उल्लेख भएको अंगिकृत नागरिकताबाहेक अरू विषयमा हाम्रो समर्थन हुनसक्छ । सीमांकनमा हाम्रो आपत्ति छैन ।’
राणाले मधेशमा दुई प्रदेश राख्ने विषयमा आफ्नो आपत्ति नभएको बताए ।












प्रतिक्रिया